खोटाङ, मंसिर १२ । खोटाङको च्यास्मीटारस्थित च्यास्मीटार माबिको व्यवस्थापन समितिको नयाँ नेतृत्वका लागि दलीय टिम चुनावी मैदानमा उत्रिएका छन् । 
आगामी मंसिर १६ गते हुने व्यवस्थापन समितिको र्निाचनकालागि दलगतरुपमा बनाइएका टिम चुनाबी मैदानमा उत्रिएका हुन् । सर्वसहमतीकालागि आईतबार गरिएको प्रयास असफल भएपछि कांग्रेस, एमाले, माओबादी केन्द्र र खम्बूवानको टिम स्थानीय निकायको चुनावको झल्को दिनेगरी तयारीमा जुटेका छन् । 
व्यवस्थापन समितिको २ पुरुष र २ महिला सदस्य चयनकालागि एमालेले रसकुमार राई, कुलबहादुर राई, पविता राई र प्रेमकुमारी राईलाई उम्मेदवार उठाएको छ । कांग्रेसले रिपिन्द्र राई, धनकुमार राई, अमृता राई र गीता राईलाई तथा खम्बूवानले जोतिन्द्र चामलीङ खम्बूलाई उम्मेदवारकारुपमा अघि सारेको छ । 
२०६३ साल र २०६७ सालमा निर्वाचनको माध्यमबाट व्यवस्थापन समिति गठन गर्दा बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था जरजर बनेको भन्दै आलोचना भइरहँदा तेश्रो पल्ट पनि निर्वाचन गर्न लागिएको हो । च्यास्मीटारमा कांग्रेसका पुर्वजिल्ला उपसभापति देबेन्द्र राई, एमालेका क्षेत्रीय अध्यक्ष सुरेन्द्र राई, माओबादी केन्द्रका सम्मेलन आयोजक कमिटि सदस्य संगीन राई, खम्बूवान राष्ट्रिय मोर्चाका जिल्ला अध्यक्ष तुलसी खम्बू लगायतका नेता भएपनि व्यवस्थापन समितिकालागि सर्वसहमती जुट्न सकेन । 
जिल्ला स्तरका नेता गाउँस्तरका मामिलालाई मिलाउनुको सट्टा ‘लड्न र लडाउन’मै केन्द्रित रहेका कारण विद्यालयमा निर्वाचन संस्कार बिकास भएको एक अभिभाबकले गुनासो गरेका छन् । तीन दलले उम्मेदवार उठाए पनि माओबादी केन्द्रले भने आफ्नो छुट्टै उम्मेदवार खडा गरेको छैन । अघिल्लो निर्वाचनमा कांग्रेसको समर्थनमा अध्यक्ष जितेको माओबादी केन्द्रका नेताले यस निर्वाचनमा कांग्रेसलाई समर्थन गरेको छ । यद्यपी, माओबादी केन्द्रका च्यास्मीटार अध्यक्ष चुडामणी घिमिरे भने यसका बिपक्षमा देखिएका छन् । निर्वाचनमा खम्बूवानले भने हालसम्म कसैसँग चुनावी तालमेल देखाएको छैन । 
विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धि गर्नुभन्दा पार्टीको प्रभाव र स्वार्थलाई स्थापित गर्नमा दलगत टिम केन्द्रित रहेको भन्दै अभिभाबबाटै असन्तुष्टी आइरहेको छ । दलीय आधारमा बनाइएका टिम आ–आफ्नो चुनाव चिन्ह र अभिभाबकको नामावली च्यापेर पक्ष÷विपक्षको हिसावकितावमा लागेका छन् । उम्मेदवार र सम्बद्ध दलका नेता घरदैलो, फोन सम्पर्क गर्दै दौडधुपमा लागेका छन् । 
२०६३ सालमा भएको निर्वाचनबाट एमालेका बिष्णु राई र २०६७ सालको निर्वाचनबाट सागर राई व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका थिए । यसअघिका निर्वाचनमा बिजयी टिमलाई पराजित टिमबाट असहयोग हुँदा काम गर्न अप्ठ्यारो परेको अनुभवका आधारमा व्यवस्थापन समितिको र्निाचनमा जानु अनुचित रहेको श्रोत व्यक्ती नयनकुमार राईले बताए । ‘स्वभाबैले निर्वाचनले अभिभाबकलाई पक्ष र विपक्षमा बाँडिदिन्छ,’ श्रोतव्यक्ती राईले भने, ‘पराजयपक्षले बिजयीपक्षलाई असहयोग गर्ने र विद्यालयप्रतिको उन्नतीलाई बिर्सेर रिस साँध्नेस्थिति बन्छ ।’