खोटाङ, मंसिर १८ । खोटाङको च्यास्मीटारस्थित च्यास्मीटार माबिको व्यवस्थापन समितिको नयाँ नेतृत्वकालागि भएको निर्वाचनमा कांग्रेसको प्यानल बिजयी भएको छ । व्यवस्थापन समितिको नयाँ नेतृत्वकालागि दुई पुरुष र दुई महिला चुन्नकालागि बिहिबार गरिएको निर्वाचनमा कांग्रेसको प्यानल बिजयी भएको हो । निर्वाचनमा कांग्रेसका उम्मेदवार रिपिन्द्र राई, धनकुमार राई, अमृता राई र गीता राई बिजयी भएका हुन् । माओबादी केन्द्रको समर्थन पाएको कांग्रेस टिमबाट एमालेकातर्फबाट उम्मेदवारी दिएका रसकुमार राई, कुलबहादुर राई, पविता राई र प्रेमकुमारी राई पराजित भए । 
निर्वाचनमा खम्बूवानले जोतिन्द्र राईलाई उठाएको थियो । सर्वसहमतीकालागि गरिएको प्रयास असफल भएपछि कांग्रेस, एमाले, माओबादी केन्द्र र खम्बूवानको टिम स्थानीय निकायको चुनावको झल्को दिनेगरी चुनावी मैदानमा उत्रिएका थिए । विद्यालयको भौतिक र शैक्षिक गुणस्तर बृद्धि गर्नुभन्दा पार्टीको प्रभाव र स्वार्थलाई स्थापित गर्नमा दलगत टिम केन्द्रित रहेको भन्दै अभिभाबकबाटै असन्तुष्टी आइरहेको छ । २०६३ साल र २०६७ सालमा निर्वाचनको माध्यमबाट व्यवस्थापन समिति गठन गर्दा बिद्यालयको शैक्षिक तथा भौतिक अवस्था जरजर बनेको भन्दै आलोचना भइरहँदा तेश्रो पल्ट पनि निर्वाचन भएको थियो । 
च्यास्मीटारमा व्यवस्थापन समितिको निर्वाचनपछि मत गणना गर्दै निर्वाचन मण्डलको टोली र प्रतिनिधि । 
च्यास्मीटारमा कांग्रेसका पुर्वजिल्ला उपसभापति देबेन्द्र राई, एमालेका क्षेत्रीय अध्यक्ष सुरेन्द्र राई, माओबादी केन्द्रका सम्मेलन आयोजक कमिटि सदस्य संगीन राई, खम्बूवान राष्ट्रिय मोर्चाका जिल्ला अध्यक्ष तुलसी खम्बू लगायतका नेता भएपनि व्यवस्थापन समितिकालागि सर्वसहमती जुट्न सकेन । जिल्ला स्तरका नेता गाउँस्तरका मामिलालाई मिलाउनुको सट्टा ‘लड्न र लडाउन’मै केन्द्रित रहेका कारण विद्यालयमा निर्वाचन संस्कार बिकास भएको अभिभाबकले गुनासो गरेका छन् । 
२०६३ सालमा भएको निर्वाचनबाट एमालेका बिष्णु राई र २०६७ सालको निर्वाचनबाट सागर राई व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।