खोटाङ, २० मंसिर । खोटाङमा स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले प्रस्ताव गरेको गाउँपालिकालाई यथावत कायम गर्नुपर्ने मागमा स्थानीयले दुई वटा सडक बन्द गरेका छन् ।
प्रस्ताबित दिप्रुङ गाउँपालिकालाई यथावत राख्नुपर्ने मागमा छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाबिसका स्थानीयले सोमबारदेखि टुवा खोला–रेग्मीटार सडक र खरुवा खोला–टुवा खोला सडक बन्द गरेका हुन् । याम्खा, डाँडागाउँ, छोरम्बु, सछितापोखरी, बतासे र छितापोखरी गाबिसलाई समेटेर दिप्रुङ गाउँपालिका बनाउने प्रस्तावलाई यथावत राख्नुपर्ने पक्षमा अनिश्चित कालका लागि सडक बन्द गरिएको दिप्रुङ गाउँपालिका संघर्ष समितिका संयोजक मेरुकुमार राईले बताउनुभयो ।
टेम्मा गाबिसलाई दिप्रुङ गाउँपालिकामा समेटेर केन्द्र परिवर्तन गर्नुपर्ने पक्षमा याम्खा, डाँडागाउँ र टेम्माका स्थानीय संघर्षमा उत्रिएपछि उनीहरुले प्रस्ताबित खाकालाई फेरबदल गर्न नदिने पक्षमा संघर्ष सुरु गरेका हुन् । प्रस्ताबित दिप्रुङ गाउँपालिको खाकामा फेरबदल गरिए गाईघाट–दिक्तेल ३३ केभीए बिद्यूत प्रशारणलाईन समेत काट्ने संघर्ष समितिले चेतावनी दिएको छ ।
स्थानीय तहको खाकाका बिषयमा असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिएका बिभिन्न समुह र स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिबीचको वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन ।