खोटाङ, मंसिर २१ । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धाकालागि जाने खोटाङका सितोरियो खेलाडी बन्द प्रशिक्षणमा छन् ।
विराटनगरको शहिद रंगशालामा मंसिर २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगीताकालागि जिल्लाका सितोरियो खेलाडी हालसम्म बन्द प्रशिक्षणमै रहेका छन् । महिना दिनअघिदेखि बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई मंसिर १३ गतेदेखि बिशिष्ट प्रशिक्षक श्याम सुनुवारले प्रशिक्षण दिइरहेका छन् ।
मंसिर २४ गतेसम्म बन्द प्रशिक्षणमा रहेर प्रतिष्पर्धाकालागि बिराटनगर प्रस्थान गर्ने तयारी गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । प्रतियोगीताकालागि २१ खेलाडी, दुई जना निर्णायक, एक जना कोच र एक जना व्यवस्थापक लगायतका टिम शनिबार बिराटनगर जाने छन् । २०६८ सालमा भएको छैठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा खोटाङले तीन स्वर्णसहित पुर्वाञ्चल दोश्रो स्थान प्राप्त गरेको थियो ।