खोटाङ कात्तिक–२९, खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बामपन्थी नेता स्वर्गीय बालकृष्ण आचार्यको परिवारलाई नेपाल कम्युनिष्ट पार्टी खोटाङले आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते निधन भएका आचार्यको परिवारको आर्थिक अवस्था कमजोर भएकोले नेकपाले ५१ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको हो । 
मृतकको किरिया खर्च लगायतका कामका लागि मृतक परिवारलाई आर्थिक सहयोग गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख समेत रहनुभएको नेकपा नेता बबी चाम्लिङले बताउनुभयो । नेकपाले बिहिबार आचार्यको घरैमा पुगेर सहयोग रकम प्रदान गरेको हो । सहयोग रकम जिसस प्रमुख तथा नेकपा खोटाङको नेता चाम्लिङले मृतकका आफन्त गोपालचन्द्र आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । 
यस्तै, नेपाल निजामती कर्मचारी संगठनले पनि मृतक आचार्य परिवारलाई ५ हजार अस्तान्तरण गरेका छन् । २०१७ साल मंसिर १३ गते जन्मिएका आचार्यको ५८ वर्षको उमेरमा निधन भएको हो । मृतक आचार्य एमालेका जिल्ला प्रतिनिधि परिषद् सदस्य रहनुभएको थियो । सहयोग रकम हस्तान्तरणका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, प्रदेशसभा सदस्य राजन राई, उषाकला राई, पुर्वसभाषद दुर्गाजयन्ती राई, समिता कार्की लगायतका नेता तथा कार्यकर्ता आचार्यको घरमा पुगेका थिए ।