खोटाङ, पुस ४ । बैदेसिक रोजगारलाई सुरक्षित बनाउनकालागि सचेतना बिकासमा जोड दिनुपर्ने खोटाङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । सुरक्षित आप्रबासन परियोजना सामीले दिक्तेलमा आयोजना गरेको ‘बैदेसिक रोजगारको अवस्था, समस्या र दिगो व्यवस्थापन’ विषयक अन्तरक्रीया कार्यक्रममा सहभागी बक्ताहरुले बैदेसिक रोजगारलाई सुरक्षित बनाउन सचेतना बिकासमा जोड दिएका हुन् । 
जिल्लास्थित सरोकारवाला, राजनैतिक दल, पत्रकार लगायतले बैदेसिक रोजगारमा जानअघि जान लागेको देशको भाषा, काम सम्बन्धी तालिम, कागजातको सुरक्षा लगायतका विषयमा सर्वसाधारणलाई सचेत बनाउन सक्नुपर्नेमा जोड दिएका छन् । सहभागीले बिदेशबाट भित्रिने रेमीट्यान्सलाई उपलव्धीमूलक काममा उपयोग गर्ने ज्ञानको अभावमा बैदेसिक आम्दानी उपलव्धी बिहिन बनिरहेको बताएका छन् । ‘सुरक्षित बैदेसिक रोजगारको प्रतिबद्धता, हामी सबैको ऐक्यबद्धता’ भन्ने नारासहित सप्ताहव्यापीरुपमा मनाउन लागिएका अन्तर्राष्ट्रिय आप्रबासन दिवसको तयारीकाक्रममा बैदेसिक रोजगारको विषयमा अन्तरक्रीया गरिएको सामी अन्तरगत बालसेवा समाज नेपालका कार्यक्रम संयोजक लोकमणी रिजालले बताउनुभयो । 
कार्यक्रममा सामी अन्तरगत नवकिरण सेवा समाजका निमित्त कार्यक्रम संयोजक खिलाश्वरी दाहालले जिल्लाको बैदेसिक रोजगारको अवस्थामा बिषयमा जानकारी दिएकी थियो । जिल्लामा दैनिक एक करोडको हाराहारीमा रेमीट्यान्स भित्रिने गरेको छ ।