काठमाडौं । खोटाङ जिल्ला दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाडागाउँ निवासी ३७ वर्षिय मुटु रोगी केदार परियारको उपचारका लागि खोटाङबासीले झण्डै दुई लाख सहयोग गरेका छन् । विभिन्न ठाउँमा छरिएर रहेका खोटाङबासीले उनको उपचारका लागि सहयोग रकम जुटाएका हुन् ।
बिरामीको उपचारका लागि आर्थिक संकलन कार्यक्रममा खटिएका नवराज रोकाका अनुसार एक लाख ९७ हजार रुपैयाँको प्रतिवद्धता आएको छ । उनका अनुसार टेम्मा र श्री महेन्द्रदय उच्च माविबाट रु ५८ हजार एक सय गरि जम्मा रु १ लाख ९७ हजार दुई रुपैयाँ जम्मा हुने भएकाे छ । हालसम्म बिरामीलाई १ लाख ४४ हजार ७ सय हस्तान्तरण गरिएको छ । बाँकी रकम उठ्ने क्रममा रहेको उनको भनाई छ ।
मुटु रोगी खोटाङबासी परियार उपचारको क्रममा काठमाडौको गंगालाल हस्पिटलमा रहेका छन् । मुटृको अप्रेशन गर्नु पर्ने भएको र आफूसँग भएको जायजेथाले धान्न नसक्ने भएपछि हस्पिटल बेडबाटै उनले आर्थिक सहयोगको अपिल गरेका थिए । उनको सहयोगका लागि नवराज रोकाले सक्रियता देखाउँदै उक्त रकम संकलन गरेका हुन् । रोकाले सहयोगीहरुप्रति धन्यवाद दिँदै थप सहयोग गर्न र सहयोगको प्रतिवद्धता गर्नेहरुसँग चाँडो रकम संकलन गरिदिन आग्रह गरेका छन् ।
बिरामीलाई केदार परियारको नाममा सानिमा बैंकमा रहेको उनको खाता नम्बर ०७१०००००११३० इ, कोड नम्बर ३५५ (KEDAR PARIYAR- SANIMA BANK A/C NO. 071000001130E — CODE : 355) मार्फत पनि सहयोग गर्न सकिने जनाइएको छ ।