खोटाङ, १२ पुस । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलीब्रिज सञ्चालनमा आएको छ । जिल्लाको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज मङ्गलबारबाट सञ्चालनमा आएको हो ।
तराई लगायत अन्य जिल्ला पुग्न सबैभन्दा छोटो मार्गका रुपमा रहेको महुरे–फोक्सिङटार सडक खण्डमा पर्ने सुनकोसी नदीमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै जिल्लाबाट सिधा यातायात सेवा सुरु भएको छ । सुनकोसी, दूधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा अस्थायी बेलीब्रिज सञ्चालन भएपछि जिल्लाबाट यातायातका सवारी साधन छुटाउन थालिएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो ।
फोक्सिङ्टारमा बेलीब्रिज सञ्चालनमा आएपछि जिल्लावासीलाई तराई लगायत अन्य जिल्ला आवत÷जावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । सुनकोसी नदीमा पक्की पुल नबनेसम्म हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेपछि झिक्नेगरी तीन वर्षअघिदेखि अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ ।
पक्की पुल निर्माणका लागि ठेक्का लागी सकेको फोक्सिङ्टारमा अहिलेसम्म पुल निर्माणको काम हुन सकेको छैन । तीन वर्षअघि शिलान्यास गरिएको पक्की पुल निर्माणमा ठेकेदारले लापरबाही गरेकाले काम नभएको स्थानीयको आरोप छ ।
पुल निर्माण नभएपछि विकल्पमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । अहिलेसम्म कच्ची अवस्थामा रहेको दिक्तेल–गाईघाट सडक कालोपत्रेसमेत सुरु गरिएको छ ।