खोटाङ, १२ पुस । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बिकट गाविस वाप्लुखास्थित महेन्द्रोद्धय माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ । शिक्षक, विद्यार्थी र अभिभावकले यस वर्षको तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमबाट कम्प्युटर खरिद गरेर विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन गरिएको हो ।  
देउसीभैलीबाट संकलन भएको एक लाख रुपैयाँबाट छ र जिल्ला शिक्षा कार्यालय खोटाङले उपलब्ध गराएको चार थानगरी जम्मा दश थान कम्प्युटर राखेर कक्षा सञ्चालन गरिएको प्रधानाध्यापक खड्गबहादुर खड्काले जानकारी दिनुभयो । “अहिले कक्षा ६, ७ र ८ का विद्यार्थीलाई कम्प्युटर शिक्षा दिन थालिएको छ ।” उहाँले भन्नुभयो, “दुर्गमका विद्यालय भएपनि यसलाई नमुना विद्यालय बनाउन लागी परेका छौं ।” 
विद्यालयले कम्प्युटर सिक्न चाहने स्थानीयलाई समेत कम्प्युटरको आधारभूत शिक्षा प्रदान गर्दै आएको छ । कम्प्युटर शिक्षा दिए बापत विद्यालयले प्रति व्यक्ति दुई हजार रुपैयाँ शुल्क लिने गरेको स्थानीयले बताएका छन् ।
विद्युतको पहुँच नपुगेको सो गाविसको विद्यालयमा कम्प्युटर चलाउन २४० वाट क्षमताको
सोलार प्यानेल जडान गरिएको छ । त्यसका लागि गत वर्षको देउसीभैलीबाट संकलन भएको ८० हजार रुपैयाँ खर्च गरिएको प्रअ खड्काले बताउनुभयो । 
२३७ जना विद्यार्थी अध्ययनरत सो विद्यालयलाई आर्थिक स्रोत जुटाउन विद्यालयले फोटोकपी तथा स्टुडियोसमेत सञ्चालन गर्दै आएको छ । विद्यालयले सञ्चालन गरेको फोटो स्टुडियोबाट मासिक पाँच/छ हजार आम्दानी हुने जनाइएको छ । 
विद्यालयले फोटो स्टुडियो सञ्चालन गरेपछि स्थानीयलाई फोटोकपी गर्न र फोटो खिच्न करिब तीन घण्टा पैदल हिड्नुपर्ने बाध्यता समाधान भएको प्रअ खड्काले जानकारी दिनुभयो । विद्यालयले हालै सञ्चालन गरेको कम्प्युटर कक्षामा स्थानीय सुजन राईले विद्यालयको निजी स्रोतमा अध्यापन गरिरहनुभएको छ ।