खोटाङ, १२ पुस । स्थानीय शान्ति समिति खोटाङको संयोजकमा नेपाली काँग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठ चयन हुनुभएको छ । समितिको दिक्तेलस्थित कार्यालयमा मङ्गलबार बसेको सर्वदलीय बैठकले सभापति श्रेष्ठलाई छ महिनाका लागि संयोजक चयन गरेको हो ।
बैठकपछि आयोजना गरिएको संयोजक हस्तान्तरण कार्यक्रममा निवर्तमान संयोजक तथा नेकपा मालेका केन्द्रीय सदस्य श्यामराज राई र नव नियुक्त संयोजक श्रेष्ठले आपसमा अबिर लगाएर डायरी साटासाट गर्नुभयो । कार्यक्रममा बोल्दै निवर्तमान संयोजक राईले समितिको तर्फबाट जिल्लामा गर्नुपर्ने काम अझै बाँकी रहेकाले निरन्तरता दिन नव नियुक्त संयोजक श्रेष्ठलाई आग्रह गर्नुभयो ।
जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि उपस्थित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जिल्लाको शान्ति सुरक्षा लगायत द्धन्द्ध व्यवस्थापनमा समितिले खेलेको भूमिकाको विषयमा चर्चा गर्दै आगामी दिनमा पनि सोही किसिमको भूमिका निर्वाह हुने अपेक्षा गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै नव नियुक्त संयोजक श्रेष्ठले संयोजक पदमा रहेर आफूले निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कजुस्याइ नहुने प्रतिबद्धता जनाउनुभयो ।
जिल्लास्थित राजनीतिक दलका प्रमुखले चक्रीय प्रणाली अनुसार ६/६ महिनामा पालै–पालो शान्ति समितिको संयोजक सम्हाल्दै आएका छन् । खोटाङमा तत्कालीन एकीकृत नेकपा माओवादी हाल नेकपा ं(माओवादी केन्द्र)का अध्यक्ष देवान किराती (पृथ्वी)बाट सुरुभएको शान्ति समितिको नेतृत्व काँग्रेस, एमाले, राप्रपा, संघीय समाजवादी फोरम, नेकपा माले हुँदै पुनः नेपाली काँग्रेसको पालोमा आइपुगेको हो ।