खोटाङ, १६ पुस । नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले शान्ति प्रकृयालाई स्थापित गर्ने काम सरकार र सदनबाटै भइरहेको बताउनु भएको छ ।
खोटाङको दिक्तेलमा शनिबार माओबादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ती मोर्चाको चौथो सम्मेलन उदघाटन गर्दै बरिष्ठ नेता थापाले ओझेलमा परेको शान्ति प्रकृयालाई स्थापित गर्ने काममा आफ्नो पार्टी क्रियासिल रहेको बताउनु भएको हो । 
जनयुद्ध र शान्तिसँग सम्बन्धित कैयौँ प्रश्नहरु हालसम्म हल हुन नसकेको उल्लेख गर्दै बरिष्ठ नेता थापाले जनयुद्धकालिन मुद्धालाई अन्त्या गर्नका लागि पनि संबिधान संशोधनमा जानुपर्ने आवश्यका औंल्याउनुभयो । ‘जनयुद्ध र शान्तिसित सम्बन्धित कैयन प्रश्नहरु अझैपनि हल भएका छैनन्,’ थापाले भन्नुभयो, ‘हामीले जनयुद्धकालिन मुद्धालाई अन्त्या गर्दै शान्तिलाई पूर्णता दिन सदनबाट र सरकारको मोर्चामा माध्यमबाट सक्रियारुपमा लागीरहेका छौँ ।’
 थापाले जनयुद्धकालिन मुद्धालाई अन्त्या गर्ने र समाधान गर्ने संशोधन ऐन निर्माण गर्ने बिद्येयक संसदमा दर्ता गरिएको जानकारी दिनुभयो । उहाँले संबिधानका सकरात्मक उलपव्धीलाई रक्षा र कार्यान्वयन गर्नकालागि देशलाई निर्वाचनमा लैजान बर्तमान सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो । 
दिक्तेलको हेलीप्याडमा आयोजित कार्यक्रममा बरिष्ठ नेता थापाले एमालेले पूरानो पाँच बिकास क्षेत्रलाई नै संघीयता मान्नुपर्ने पक्षमा बहस चलाइरहेको आरोप लगाउनुभयो । संबिधान संशोधनको बिपक्षमा उभिएर संघीयतालाई अस्वीकार गरेको एमाले पूरानै संरचनालाई संघीय प्रदेश मान्नुपर्ने पक्षमा उभिएको थापाले बताउनुभयो । उहाँले हाल संघीयतालाई सिध्याउने र अधुरो संघीयतालाई पूर्णता दिने पक्षबीचमा सदनमा संघर्ष चलिरहेको जनाउनुभयो ।  
थापाले राज्य व्यवस्थामा उत्पिडित जनता, उत्पिडित जाती, लिंग, धर्मको शासन गर्ने राजनैतिक अधिकार स्थापित नभएसम्म देशको संबृद्धि सम्भव नहुने बताउनुभयो । संघीयतालाई लत्याउनकै लागि हालसम्म प्रदेशको नामांकन नगरिएको थापाको भनाई थियो । देशको राज्यसत्ता प्रतिक्रियाबादी, एकाधिकारबादी सोच भएका बर्गको हातमा भएकाले जनता गरिबीको जाँतोमुनि पिल्सिन बाध्य भएको थापाले बताउनुभयो । 
कार्यक्रमलाई १ नम्बर प्रदेश ईन्चार्ज गोपाल किराती, स्थायी समिति सदस्य सुरेश आलेमगर लगायतका नेताले सम्बोधन गर्नुभएको छ । सम्मेलनमा नेपालका २३ जिल्ला सहित हङकङ, सिंगापुर, बेलायत, अमेरिका लगायतका देशबाट ५ सय प्रतिनिधिको सहभागीता रहेको मोर्चाले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै आईतबार समापन हुने जनाइएको छ ।