खोटाङ, २५ पुस । माथिल्लो सगरमाथा अन्तरगतका खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा दुई दिनदेखि इन्टरनेट सेवा ठप्प भएको छ । रेडियो लिंकमा आएको समस्याका कारण नेपाल टेलिकमको राजबिराज कार्यालय अन्तरगतका तीन जिल्लामा एडिएसएल र वाईम्याक्स ईन्टरनेट सेवा ठप्प भएको हो ।
इन्टरनेट सेवा नचल्दा तीन वटै जिल्लाका सरकारी कार्यालय, गैर–सरकारी कार्यालय, सञ्चारमाध्यम, संघसंस्था लगायतको कामकाज प्रभावित भएको छ । इन्टरनेट नचल्दा ईन्टरनेटमा निर्भर कार्यालयीय तथा निजी कामहरु प्रभावित भएका छन् । एडिएसएल र वाईम्याक्स इन्टरनेटको सट्टामा हाल सेवाग्रहीले एडिएसएल मोडेम जोडेर आकस्मिक काम गरिरहेको नवयुवा फुलपाती सेवा समाज खोटाङका अध्यक्ष धनप्रसाद गिरीले बताउनुभयो ।
नेपाल टेलिकमले हालसम्म फल्ट भएको स्थान पत्ता लगाउन सकेको छैन । काठमाडौंबाट प्राबिधिक झिकाईएकाले केही दिनमा ईन्टरनेट सुचारु हुने नेपाल टेलीकम शाखा कार्यालय दिक्तेलका प्रमुख भरोसी शाहले बताउनुभयो ।