खोटाङ, २ माघ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्व सांसद टंक राईले स्थानीय तह पुनःसंरचनाको खाका तयार गर्ने क्रममा पहिचान विरोधीले चलखेल गरेको आरोप लगाएका छन् । 
जिल्लाबाट प्रस्ताव गरिएको महुरेगढी गाउँपालिकाको नाम हटाएर प्रस्ताव नै नगरिएको ठाउँलाई गाउँपालिका बनाइएको विरोधमा आइतबार खोटाङको महुरेगढीमा आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्दै उहाँले पहिचान विरोधीहरुले ऐतिहासिक ठाउँको नामलाई नामेट गर्ने काम गरेको दाबी गर्नुभयो । 
जिल्लाबाट सर्वसहमतीमा सिफारिस गरिएको महुरेगढी गाउँपालिका हटाउन पुनःसंरचना आयोगलाई समेत अधिकार नभएको उहाँले बताउनुभयो । “महुरेगढी भनेको ऐतिहासिक तथा किराती सभ्यतासँग जोडिएको ठाउँ हो ।” उहाँले भन्नुभयो, “त्यही किराती सभ्यता र पहिचानलाई नामेट गर्न महुरेगढी हटाइएको हो ।”
प्रस्तावित गाउँपालिको नाम हटाइएको विरोधमा नौं दिनदेखि आन्दोलनरत स्थानीयलाई सम्बोधन गर्दै उहाँले आफू र आफ्नो पार्टीको समर्थन रहेको बताउनुभयो । “जनताको जनभावना विपरित महुरेगढीको नाम हटाएर लामीडाँडाको नाम सिफारिस गरिएको छ ।” उहाँले भन्नुभयो, “जन दबाबकै कारण आयोग तथा सरकार झुक्नेछ ।”
विरोधसभामा नेपाली काँग्रेसका जिल्ला सदस्य बालानन्द खनाल, नेकपा (एमाले)का जिल्ला सचिवालय सदस्य खडेन्द्रकुमार राई, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय आयोजक समिति सदस्य दिपक पाण्डे (आकाश), राप्रपा खोटाङका अध्यक्ष जीवनकुमार श्रेष्ठ, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य विसन राई लगायतले सम्बोधन गरेका थिए । सडक बन्दा गरेर विरोधमा उत्रिएका बुइपा, राजापानी, विजयखर्क, नुनथला, हौंचुर लगायतका स्थानीयले आइतबार राजनीतिक समर्थन जुटाउन विरोधसभाको आयोजना गरेको हो । 
नाराजुलुसपछि आयोजना गरिएको विरोधसभाका वक्ताहरुले स्थानीयले राखेको माग जायज भएको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गर्न आन्दोलनकारीलाई सुझाव दिएका छन् । लामो समयसम्म सडक बन्द गर्दा हजारौं यात्रु मारमा पर्नुका साथै जिल्लामा दैनिक उपभोग्यवस्तुको हाहाकार हुने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । 
महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा गाउँपालिका बनाउन सिफारिस गरिएकोप्रति असन्तुष्टी जनाउँदै स्थानीयले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–जयरामघाट तथा सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार सडक नौं दिनदेखि अवरुद्ध पारेका छन् । बन्दका कारण बिरामी, चाँडो गन्तव्यमा पुग्नुपर्ने तथा ग¥हौँ भारी सहितका यात्रु बढी मारमा परेका छन् । 
जिल्ला अस्पताल दिक्तेलबाट आकस्मिकरुपमा रेफर गरिएका बिरामी हेलिकोप्टर चार्टर गर्न वा हवाईजहाज प्रयोग गर्न बाध्य बनेका छन् । बिरामी बोकेका सवारी साधनलाई भने बन्दमा अवरोध नगरिएको संघर्षरत विद्यार्थी नेता ओमप्रकाश घिमिरेले बताउनुभयो । 
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति तथा सर्वदलीय बैठकले खोटाङबाट हलेसी तुवाचुङ र रुपाकोट मझुवागढी नगरपालिका तथा महुरेगढी, ऐसेलुखर्क, केपिलासगढी, जन्तेढुङ्गा, खोटेहाङ, दिप्रुङ, साकेला र बराहपोखरी गाउँपालिका बनाउन प्रस्ताव गरेकामा आयोगले महुरेगढीको सट्टामा लामीडाँडा गाउँपालिका बनाएर सरकारलाई सिफारिस गरेको छ । जिल्लाबाट प्रस्तावित महुरेगढी गाउँपालिकालाई यथावत कायम नगरिएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक उदयबहादुर कार्कीले बताउनुभयो । 
विरोधसभापछि अहिले महुरेगढीमै संघर्ष समितिको बैठक बसीरहेको जनाइएको छ । बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्दै थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने संघर्षरत माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य सुरेश राईले जानकारी दिनुभयो ।