खोटाङ, १२ माघ । लागूऔषध (गाँजा) मुद्दामा फरार रहेका पश्चिमी गाविस डिकुवा–२ का ८३ वर्षीय नरबहादुर मगर र उनको भाइ ७५ वर्षीय हर्कबहादुर मगर पक्राउ परेका छन् । लागूऔषध (गाँजा) मुद्दामा एक वर्ष कैंद र पाँच हजार जरिवाना भुक्तानी गर्न बाँकी मगर दाजुभाइलाई पन्ध्र वर्षपछि पक्राउ गरिएको हो । 
अदालतमा मुद्दा पर्नासाथ फरार रहेका मगर दाजुभाइलाई घरमा आएको समयमा आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मगर दाजुभाइलाई सोमबार जिल्ला अदालत खोटाङमा हाजिर गराएर सोही दिन साँझ कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभयो । 
पक्राउ परेका मगर दाजुभाइसहित छ जनालाई जिल्ला अदालत खोटाङले वि.सं. २०५९ साल असोज १ गते एक/एक वर्ष कैंद र पाँच/पाँच हजार जरिवाना ठहर गरी फैसला सुनाएको थियो । फरार रहेकामध्ये चार जनाको मृत्यु भइसकेको छ ।
जिवित रहेका मगर दाजुभाइबाट कैंद तथा जरिवाना भुक्तानी भराउन अदालतले गत साउन २५ गते प्रहरी कार्यालयमा फरारी लागत किताब पठाएको थियो । अदालतको किताबको आधारमा यसअघि निर्दोष रहेका डिकुवा–६ का नरबहादुर मगरलाई गत पुस २४ गते प्रहरीले पक्राउ गरेको थियो । 
अदालतको फरारी लागत किताबको आधारमा पक्राउ गर्दा निर्दोष रहेका व्यक्ति परेको थाहा पाएपछि माघ ८ गते साँझ उनलाई छाडिएको थियो । पुस २९ गते कारागार चलान भएका निर्दोष मगरलाई अदालतको पत्रको आधारमा कारागारले छाडेको हो । 
निर्दोष पक्राउ पर्नु हाम्रो गल्ती होइन : प्रहरी
निर्दोष व्यक्ति पक्राउ पर्नुमा आफूहरुको कुनै गल्ती नरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नविनकिशोर प्रधानले बताउनुभयो । “अदालतले उपलब्ध गराएको किताबमा डिकुवा–६ का नरबहादुर मगर नै भनेर लेखिएको छ ।” उहाँले भन्नुभयो, “सोही किताबको आधारमा खोजी गर्दा नामथर मिलेकाले उनलाई पक्राउ गरिएको हो । यसमा प्रहरीको कुनै गल्ती छैन ।”
निर्दोष व्यक्ति पक्राउ परेर कारबाही भोग्नुमा अदालतले आफूहरु कै प्राविधिक त्रुटी भएको स्वीकार गरेको छ । दोषी ठहरिएका व्यक्तिको ठेगाना डिकुवा–२ हुनुपर्नेमा भुलबस डिकुवा–६ लेखिएकाले निर्दोष व्यक्ति परेको अदालतको भनाइ छ । 
पुरानो मुद्दाका दोषीको तीन पुस्ते तथा फोटो नहुनुले पनि समस्या आएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार डिकुवा–२ का नरबहादुर थापामगर हुन् भने, डिकुवा–६ का नरबहादुर गर्वुजामगर हुन् । 
गर्वुजामगरले आफू निर्दोष रहेको जानकारी गराउँदा समेत प्रहरीले जबरजस्ती पक्राउ गरेको बताउनुभएको छ । प्रहरीले नामथर मिलेकै आधारमा निर्दोष व्यक्तिलाई पक्राउ गरेर कारबाही गर्नु मानवअधिकार भएको अधिकारकर्मीहरुले बताएका छन् ।