खोटाङ, १५ माघ । जिल्ला कारागार खोटाङका कैदीबन्दीलाई गुणस्तरीय चामल उपलब्ध गराइएको छ । लामो समयसम्म कुहिएको चामल उपभोग गर्दै आएका कैदीबन्दीलाई ‘सोनामन्सुली’ जातको नयाँ चामल उपलब्ध गराइएको हो । 
नेपाल खाद्य संस्थान डिपो कार्यालय दिक्तेलले पुरानो चामल फिर्ता लगेर नयाँ उपलब्ध गराएको कारागारका जेलर चित्राखर आचार्यले बताउनुभयो । “कारागारका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य थिए ।” उहाँले भन्नुभयो, “अहिले ३० केजीको ४७२ बोरा नयाँ चामल उपलब्ध गराइएको छ ।” 
यसअघि कैदीबन्दीले तीन वर्षअघि वि.सं. २०७१/०७२ मा प्याकिङ गरिएको पुरानो चामल उपभोग गर्दै आएका थिए । कारागारका कैदीबन्दी सडिएको चामल उपभोग गर्न बाध्य भएको समाचार प्रकाशन तथा प्रशारण भएपछि संस्थानले नयाँ चामल उपलब्ध गराएको हो । 
कैदीबन्दीले उपभोग गर्दै आएको चामल बोरामै चिल्सा परेको, भिजेर डल्लो परेको र सडिएर कालो भएको निरीक्षणका क्रममा पाइएको थियो । संस्थानले करिब दुई वर्षअघिदेखि सडिएको चामल उपलब्ध गराएको विषयमा प्रशासनमा जानकारी गराउँदासमेत प्रशासन मौन बसेको कैदीबन्दीले आरोप लगाएका थिए ।
६५ पुरुष र ३० जना महिला राख्न सकिने क्षमताको कारागारमा अहिले नौं महिलासहित १०३ जना कैदीबन्दी रहेका छन् । पहिरोले जीर्ण बनेको कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा विभिन्न समस्या देखिएको छ ।