खोटाङ १७ माघ । खोटाङको सुक्खाग्रस्त क्षेत्र घोषित च्यास्मीटार–४ दाल्फुमा खानेपानी योजना शिलान्यास गरिएको छ । 
सुक्खाग्रस्त ठाउँमा पानीको सहज आपुर्तीकालागि हलेसी बिकास मञ्चको प्राबिधिक सहयोग र गरिबी निवारण कोषको आर्थिक अनुदानबाट सञ्चालन गर्न लागिएको नौखा खोला खानेपानी योजना शिलान्यास गरिएको हो । 
गरिबी निवारण कोषको कार्यप्रबन्धक बुद्धिराज लिम्बू र हलेसी बिकास मञ्चका अध्यक्ष सम्मर भुजेलले सोमबार खानेपानी योजना शिलान्यास गरेका हुन् । गरिबी निवारण कोषको ६ लाख ९३ हजार र समुदायको ३ लाख ३९ हजार गरी १० लाख ३२ हजारको लागतमा नौखा खोला मुहान भएको खानेपानी योजना सञ्चालन गर्न लागिएको हो । 
आगामी असारसम्ममा पूरा हुने योजनाले दाल्फुका १८ घर परिवार लाभान्बित हुने खानेपानी उपभोक्ता समितिका अध्यक्ष खबिराज राईले बताए । अनन्त सामुदायीक संस्थाको पहलमा २०७२ साल जेठ ३२ गते सम्झौता गरिएको खानेपानी योजनाकालागि आवश्यक सिमेन्ट, पाईप, रड लगायतका निर्माण सामग्री माघ ८ गते ल्याइसकिएको  छ । योजनाको काम फागुनदेखि निरन्तररुपमा सञ्चालन गरिने निर्माण समितिले जनाएको छ ।