खोटाङको सालपा विकास बैंकले २६ करोडभन्दा बढि निक्षेप संकलन गरेको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने नारा सहित खोटाङबासीकै सहकार्यमा २०६९ साल साउन–३ गतेदेखि बैंकिङ कारोबार शुरु गरेको बैंकले पुस मसान्तसम्ममा २६ करोड ४७ लाख २८ हजार रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।
शनिबार दिक्तेलमा आयोजित पाँचौं साधारणसभामा बैंकका कार्यकारी अधिकृत इश्वरमान राईले हालसम्म बचततर्फ ८३ प्रतिशत, मुद्धतितर्फ १३ प्रतिशत, चल्तीतर्फ २ प्रतिशत र कल खातातर्फ २ प्रतिशत निक्षेप कारोबार भएको जानकारी दिए । गत २०७२/०७३ को असार मसान्तसम्ममा २५ करोड ९५ लाख २९ हजार निक्षेप संकलन गरेको बैंकले असारदेखि पुससम्ममा १ करोडभन्दा बढि निक्षेप जम्मा गर्न सफल भएको हो ।
गत असारसम्ममा ५७ लाख ७४ हजार मुनाफा कमाएको बैंकले ६ महिनाको अवधिमा ४५ लाख ९५ हजार मुनाफा आर्जन गरेको बैंकका कार्यकारी अधिकृत राईले बताए ।
बैंकले पछिल्लो ६ महिनाको अवधिमा कर्जा लगानीमा पनि उल्लेख्य प्रगती गरेको छ । गत असारसम्ममा १४ करोड ८९ लाख ३६ हजार कर्जा प्रबाह गरेको बैंकले आफ्नो कर्जा लगानीलाई बढाएर हाल २० करोड ५९ लाख ११ हजार पु¥याएको छ । बैंकले व्यापारिक र व्यक्तीगत ओभरड्राफ्टतर्फ ५६ प्रतिशत, कृषि तथा बिपन्न बर्गतर्फ ३२ प्रतिशत र आवधिक कर्जातर्फ १२ प्रतिशत कर्जा प्रबाह गरेको जनाएको छ । बैंकको साधारणसभा प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले उद्घाटन गरेका थिए ।