खोटाङ बैशाख–१४, कुशल तथा प्रतिभावान मुर्तिकारका रुपमा देशबिदेशबाट मायाँ, सम्मान तथा दर्जनौं पुरस्कार पाएका खोटाङका कलाकार रोजन राई आफ्नै जिल्लामा भने पहिलो पटक पुरस्कृत हुने भएको छ । करिब दुुई दशकदेखि निरन्तर मुर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मुर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

प्रतिमा तथा मुर्ति निर्माणका लागि देशबिदेशबाट झिकाई प्रशंसा तथा सम्मान गरिरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई ‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’ प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाकै फरक प्रतिभाका धनी युवाले मुर्तिकलाका माध्यमबाट आफु, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन राई(एक्ले)ले बताउनुभयो । बैशाख २१ गते बृहत साहित्यिक, साङ्गीतिक तथा साँस्कृतिक कार्यक्रमकाबीच केपीलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा आयोजना हुने प्रतिष्ठानको पाँचौं बार्षिक उत्सवका अवसरमा पुरस्कार प्रदान गर्ने अध्यक्ष राईको भनाई छ ।

मुर्तिकार(कलाकार) राईलाई ११ हजार १ सय ११ रुपैंयाँको साथमा ताम्रापत्रले पुरस्कृत तथा कदर गर्ने बताईएको छ । हङकङमा रहेका साहित्य तथा संस्कृतिप्रेमी खोटाङेहरुको सक्रियतामा २०७० सालमा निर्माण गरिएको अक्षयकोषबाट बर्षेनी एक जना प्रतिभालाई उक्त पुरस्कार प्रदान गर्ने गरिएको छ । देश तथा बिदेशका बिभिन्न स्थानमा आफुले सम्मान तथा पुरस्कार पाए पनि जिल्लामा पहिलो पटक पुरस्कृत हुन लाग्दा खुशी लागेको मुर्तिकार राईले प्रतिक्रिया दिनुभयो ।

जिल्लाका तुवाचुङ जायजुम, भुल्भुले जस्ता ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थलमा मुर्ति तथा प्रतिमा बनाउनुभएका राईले भारतको सिक्कम लगायतका स्थानहरुमा प्रतिमा तथा मुर्तिहरु निर्माण गरी प्रशंसा बटुल्नुभएको छ । हाल सुनसरीको धरानमा बसोवास गर्दै आउनुभएका मुर्तिकार राईलाई हङकङ लगायतका देशहरुबाट समेत मुर्ति निर्माणका लागि झिकाईएको छ ।

फरक–फरक बिधाबाट जिल्लाको प्रतिष्ठा बढाउने या जिल्लाको हीतमा काम गर्ने उदाहरणीय ब्यक्ति पुरस्कारको भागीदार बन्दै आएका छन् । यसअघि साहित्यकार, कबि चन्द्र रानोहँछा, सितोरियो कराते खेलाडी सञ्जयकुमार राई र गायिका राधा राईले उक्त पुरस्कार ग्रहण गरिसकेका छन् ।