खोटाङ, १ फागुन । जिल्लाको दक्षिणी गाविस फाक्टाङ–२ की लक्ष्मी राईले शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ । फाक्टाङ–३ का डुण्डबहादुर मगरसँग भएको भनाभनको विषयलाई लिएर श्रीमान चतुरजङ राई र आफूलाई कुटपिट गरेर उल्टै सार्वजनिक मुद्धा चलाएको भन्दै लक्ष्मीले सुरक्षाका लागि आइतबार प्रशासनमा निवेदन दिनुभएको हो । 
मिलापत्र भइसकेको मुद्दामा भनाभन भएको विषयलाई लिएर पुनः विवाद भएपछि माघ २५ गते राति श्रीमान र आफूलाई डुण्डबहादुर मगर, टंकनारायण श्रेष्ठ, घनश्याम श्रेष्ठ, पुष्पलाल श्रेष्ठ, चिरञ्जिवी श्रेष्ठ लगायतले कुटपिट गरेको प्रशासनलाई दिएको निवेदनमा उल्लेख छ । गाउँलेको कुटाइबाट लक्ष्मीको अनुहार र हात सुन्निएको छ । 
चतुरजङले ‘खुकुरी लिएर खेदेको’ भन्दै गाउँलेले प्रहरीलाई बुझाएका कारण उनी बिरुद्ध सार्वजनिक मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब निरीक्षक मनोज यादवले बताउनुभयो । चतुरजङ बिरुद्ध माघ २८ गते म्याद थप गरेर कारबाही थालिएको जनाइएको छ । 
कुटपिट गरेर उल्टै सार्वजनिक मुद्दा चलाइएकाले प्रशासनलाई गुहार्नु परेको पीडित लक्ष्मीको भनाइ छ । “घटनाको यथार्थता नबुझी मुद्दा दर्ता गरेर कारबाही गरिएको छ ।” उहाँले भन्नुभयो, “हामी सोझा सिधा व्यक्ति गाउँमा बस्ने वातावरण नभएपछि सुरक्षाका लागि प्रशासनलाई गुहारेका हौं ।”
जिल्लामा सानातिना घटनालाई पनि व्यक्तिगत स्वार्थमा सार्वजनिक मुद्दा दर्ता गरेर निर्दोष व्यक्तिलाई फसाउने गरेको संघीय समाजवादी फोरम खोटाङका अध्यक्ष नविन राईले बताउनुभयो । “यस्ता घटनामा प्रहरीले अनुसन्धान गर्नुपर्ने हो ।” उहाँले भन्नुभयो, “जस्ले जे भन्यो त्यही गर्दा प्रहरीमाथिको विश्वास घट्दै गएको छ ।”