खोटाङ, १७ फागुन । स्वास्थ्यचौकी भवन निर्माणका लागि खार्मीका स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । खार्मी–८ का पदमबहादुर तामाङले चार रोपनी १३ आना र रत्नकुमार उदासले तीन आना जग्गा स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क प्रदान गरेका हुन् ।  
जग्गादाता तामाङ र उदासले आइबार सदरमुकाम दिक्तेल आएर जिल्ला मालपोत कार्यालयमार्फत स्वास्थ्यचौकीको नाममा रजिष्ट्रेशन पास गरिदिनुभएको गाविस सचिव चित्रकुमार सुवेदीले जानकारी दिनुभयो । जग्गा अभावमा भवन निर्माण गर्न नसकिरहेको अवस्थामा स्थानीयले निःशुल्क जग्गा प्रदान गरेपछि यसै वर्ष नयाँ भवन निर्माण गरिने स्वास्थ्य चौकीले जनाएको छ । 
भर्खरै प्रसुती सेवा समेत सुरु गरिएको स्वास्थ्यचौकीमा भवन नहुँदा दैनिक कामकाजगर्न समस्या रहेको छ । प्रसुती सेवा सुरु गरेसँगै स्वास्थ्यचौकीमा सेवाग्राहीको चाप अत्यधिक वृद्धि भएको स्वास्थ्यचौकी प्रमुख नविन लामीछानेले जानकारी दिनुभयो ।