बजार क्षेत्रबाट करिब एक हजार २०० मिटर तल रहेको खोलाको पानी विजुलीमार्फत निकाल्न सर्भेक्षणसमेत गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयमार्फत सञ्चालन हुने आयोजनाका लागि यस वर्ष २० लाख बजेट विनियोजन भएको थियो ।
नगरपालिकामा सञ्चालित पूरानो मुहानको पानीले धान्न छाडेको, मुहान सुक्दै गएको तथा अन्य ठाउँबाट ल्याउने मुहान नपाएपछि खोलाको पानी तान्ने योजना बनाइएको राप्रपाका नेता तथा पूर्व सभाषद् अर्जुन राईले बताउनुभयो । “दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न उपयुक्त ठाउँमा पानीको मुहान पाइएनँ ।” उहाँले भन्नुभयो, “जटिल रुपमा देखिएको समस्या समाधान गर्न पम्पिङ प्रविधि अपनाएर साप्सुखोलाबाट पानी निकाल्ने तयारी गरिएको हो ।”
जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयको समन्वयमा सञ्चालन हुने आयोजनाको डिटेल सर्भे ईगल सोलुशन कन्सलटेन्सीले गरेको छ । आयोजना सम्पन्न गर्न कति बजेट र समय लाग्ने भन्नेमा सर्भेक्षण प्रतिवेदन आउन बाँकी रहेको छ ।
करिब दश ठाउँमा लिफ्ट गर्दै निकालिने पानी मझुवागडीमा जम्मा गरेर वितरण गर्ने योजना बनाइएको जिल्ला खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले जानकारी दिनुभयो । “अहिले नगरपालिकामा १५ देखि २० लिटर प्रतिसेकेन्ड पानी आवश्यकता देखिन्छ ।” उहाँले भन्नुभयो, “पम्पिङ प्रविधिको आयोजना सम्पन्न गर्न सके त्यो समस्या समाधान गर्न सकिन्छ ।”
पानी अभावमा बजारवासी, सशस्त्र प्रहरी बेसक्याम्प लगायतलाई सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी पम्पिङ गरेर तान्ने तयारी गरिएको कार्यालयले जनाएको छ । करिब चार हजार घरधुरी रहेको नगरपालिकामा लामो समयदेखि हिउँदमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ ।
नगरपालिकामा अहिले दुईवटा योजनाबाट करिब ६ लिटर प्रतिसेकेन्ड पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान÷बेलुका करिब दुई घण्टा वितरण गर्ने व्यवस्था मिलाइए पनि कतिपयको धारामा पानी पुग्दैन ।
सुख्खाग्रस्त क्षेत्र लिच्कीराम्चे र हलेसी क्षेत्रमा नदीको पानी तान्ने तयारी भइरहेकाबेलामा नागरपालिकामा पनि खोलाको पानी तान्ने योजना अघि सारिएको हो । जिल्लाको अन्य क्षेत्रमा पनि अहिले पानीको हाहाकार मच्चिएको छ ।