खोटाङ ११ चैत । जिल्लाको उत्तरी क्षेत्र जोड्ने हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्डको २६ किलोमिटर स्तरोन्नति गर्ने काम पूरा भएको छ । 
स्वीस सरकारको ५५ प्रतिशत र नेपाल सरकारको ४५ प्रतिशत लगानीमा आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरिएको ४० किलोमिटर लामो सडकमध्ये २६ किलोमिटर स्तरोन्नति पूरा भएको हो ।
हुर्लुङदेखि जालपास्थित रावाखोलासम्मको १७ किलोमिटर र अन्य खण्ड गरेर २६ किलोमिटर खण्डलाई स्तरोन्नति गरिएको स्थानीय सडक सुधार कार्यक्रमका टोली प्रमुख जयबहादुर भुजेलले बताए । बाह्रै महिना यातायात सञ्चालन गर्न मिल्नेगरी उक्त सडक स्तरोन्नति गर्न चार वर्षमा पूरा गर्नेगरी काम थालिएको थियो ।
स्तरोन्नतिकाक्रममा सडकको ग्रेड मिलाउने, जाली भर्ने, नाली र ड्रेन राख्ने, कल्भर्ट हाल्ने, ढुङ्डा सोलिङ गर्ने लगायतका काम भइसकेको छ । कच्ची सडकको ग्रेड मिलाउनेक्रममा कतिपय ठाउँमा सडकको रुट नै परिवर्तन गर्नुपरेको भुजेलको भनाई छ ।
सडक स्तरोन्नतिका क्रममा अहिलेसम्म २९ करोडभन्दा बढी रकम खर्च भइसकेको जनाइएको छ । सडकको बाँकी काम पूरा गर्न तथा जिल्लाका अन्य सडक स्तरोन्नतिका लागि थप रु २० करोड माग गरिएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले जानकारी दिए ।