करिब दुई ५०० सेवाग्राहीले सेवा लिने स्वास्थ्यचौकी छितापोखरीमा एक प्याकेट सिटामोल बाहेक अन्य औषधि समेत छैन । स्वास्थ्यचौकीमा रहेको सिटामोला १५ दिनभित्र उपभोग गरिसक्नुपर्ने अवस्थाको छ ।
स्वास्थ्यचौकी प्रमुख मिलन खनालका अनुसार स्वास्थ्यचौकीले भोग्नुपरेको समस्याका बारेमा पटक–पटक माथिल्लो निकायमा जानकारी गराउँदा समेत सुनुवाइ भएको छैन । “स्वास्थ्यचौकी चलाउनै गाह्रो भएको छ ।” उहाँले भन्नुभयो, “यसमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने अवस्था आएको छ ।”
रुपाकोट मुझुवागढी नगरपालिका– स्थित स्वास्थ्यचौकी निर्मलीडाँडामा अहिलेसम्म स्वास्थ्यचौकी प्रमुख नै गएका छैनन् । त्यहाँ फोहोरको डङ्गुर, औषधि तथा भौतिक संरचना अभाव, स्वास्थ्यकर्मी समयमा अनुपस्थित हुने गरेको पाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकास्थित बडहरे स्वास्थ्यचौकी प्रमुख शिवनारायण साह आफै मादक पदार्थ सेवन गरेर बस्ने गरेका छन् । उनलाई हटाउन स्थानीयले पटक–पटक सिफारिस गरेपनि बल प्रयोग गरेर लामो समयदेखि त्यही बसिरहेका छन् ।
उनले स्वास्थ्यचौकीलाई भन्दा आफूले खोलेको निजी क्लिनिक तथा किराना पसललाई समय दिने गरेको स्थानीयवासी तथा नेपाल विद्यार्थी सङ्घ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले बताउनुभयो । “उनले अवैध काम समेत गरेको प्रमाण छ ।” उहाँले भन्नुभयो, “यसको विषयमा सम्बन्धित निकायले छानविन गरेर कारबाही गर्नुपर्छ ।”
केपिलासगढी गाउँपालिकास्थित बाक्सिला स्वास्थ्यचौकी बाक्सिला र ऐसेलुखर्क गाउँपालिकामा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्क पनि उस्तै समस्यामा रहेको अनुगमनका क्रममा पाइएको छ । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत औषधि अभाव, फोहोरको डङ्गुर, पानी अभाव, स्वास्थ्यकर्मी समयमा उपस्थित नहुने लगायतका समस्या देखिएको छ ।
स्वास्थ्य संस्थामा देखिएका सबै समस्या समाधान गर्न आफू लागी परेको अस्पतालका प्रमुख चिकित्सक डा. रामबहादुर केसीले बताउनुभयो । “कतिपय समस्या आफ्नो ठाउँबाट समाधान गर्न नसकिने पनि देखिएका छन् ।” उहाँले भन्नुभयो, “अस्पतालले गर्न सक्नेसम्म तत्काल समाधान गर्नमा लागी परेको छु ।”
स्वास्थ्य संस्थामा देखिएका सबै समस्या तत्काल समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो । “मैले पनि धेरै स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गरेको छु ।” उहाँले भन्नुभयो, “अस्पतालले कारबाही नगरे प्रशासनकै तर्फबाट कारबाही गर्छु ।”
जिल्ला अस्पतालमै पनि विभिन्न समस्या देखिएका छन् । केही महिनाअघि अस्पतालकै तत्कालीन भण्डार शाखा प्रमुख मणिराम ढकालको मिलेमतोमा करोडौं मुल्यको उपकरण कवाडीको भाउमा लिलाम गरिएको थियो ।
लिलाम बिक्रीको बारेमा अहिलेसम्म कुनै कारबाही भएको छैन । विभागबाट छानविन टोली आएर निरीक्षण गरेपनि अहिलेसम्म कारबाही नभएको हो ।