काठमाडौं १४ चैत
खोटाङमा स्थानीय बासिन्दा तथा बुद्धिजिविको सुझावलाई बेवास्ता गरेर गाउँपालिका केन्द्र तोकिएपछि पछिल्लो समय विवाद चर्केर गएको छ । गाउँपालिकाको केन्द्र तोक्ने क्रममा सिमित व्यक्तिहरुले आफ्नो स्वार्थका भरमा निर्णय गरेपछि विवाद बढेर गएको हो ।
केन्द्र सबैको पहुँच पर्ने ठाउँमा हुनुपर्नेमा साकेला गाउँपालिकाको केन्द्र पहुँचवालाको भरमा परेर अपाग पर्ने ठाउँमा पुर्याइएको पाइएको छ । दिप्रुङ गाउँपालिकाको केन्द्र पनि पहुँचवालाकै भरमा सबैलाई सहज हुने ठाउँ भन्दा पनि अन्यत्र नै तोकिएको छ भने खोटेहाङ गाउँपालिकाको केन्द्र पनि हचुवाकै भरमा तोकिएपछि त्यस क्षेत्रको स्थानीय अहिले आन्दोलित बनेका छन् । दिप्रुङ गाउँपालिकाको विषयमा मन्त्रालयमा डेलिगेशन समेत गईसकेको छन् ।
खोटाङमा गाउँपालिका केन्द्रको विषय विवादित देखिएपछि खोटाङ निवासी राजनीतिज्ञ तथा पूर्व सभाषद हरि रोकाले विवाद समाधानसहितको पत्र खोटाङ जन्मथलो भएका पूर्वशिक्षा मन्त्री तथा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य गिरिराजमणी पोखरेलमार्फत समाधानको सुत्रसहितको पत्र सरकारले विवाद हल गर्न बनाएको कार्यदल समक्ष पठाएको भेटिएको छ । तर, कार्यदलले पनि उक्त सुझाव नमानेको समेत पाइएको छ । साकेला गाउँपालिकाका जिल्लाका पुराना नेता हिरा बहादुर गुरुङसहित हरि रोकाले लेखेको पत्रमा जिल्लामा देखिएको विवाद समाधान हुने गरी उनीहरुको माग सम्बोधन गर्ने गरी गाउँपालिका केन्द्र तोक्ने राय दिइएको थियो । जस अन्तर्गत दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन गरेर दिप्रुङ चुइचुम्मा राख्नुपर्ने र डाँडागाउँ गाविसमा केन्द्र राख्दा उचित हुने, साकेला गाउँपालिकाको केन्द्र रतन्छामा राख्दा सबैको सहज पनि हुने र विवाद पनि नहुने तथा खोटेहाङ गाउँपालिकाको केन्द्र साविक इन्द्रोीपोखरी गाविसलाई राखिदिने र साविक लिकुवापोखरी गाविसलाई चिसापानीतिर जोडीदिदाँ उचित हुने सुझाव दिइएको भेटिएकाे छ ।
यद्यपी, सुझावहरुको वेवास्ता गरिएको पाइएको छ भने जिल्लामा तीन वटै गाउँपालिकाका स्थानीय हचुवाको भरमा गाउँपालिका केन्द्र तोकिएको भन्दै आन्दोलित र असन्तुष्ट रहेका छन् ।