खोटाङ १६ चैत । खोटाङमा पाँच दलले आफ्नो चुनाव चिन्हबाट आगामी चुनावमा प्रतिष्पर्धा गर्न नपाउने भएका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलले मात्र आफ्नो चुनाव चिह्न लिएर चुनावमा जान पाउने प्रावधान अनुसार जिल्लामा पाँच दलले आफ्नो चुनाव चिन्ह लिएर चुनावी प्रतिष्पर्धामा जान नपाउने भएका हुन् ।

जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका १२ दलमध्ये नयाँ शक्ति, नेकपा माले समाजवादी, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक, चुरेभावर लोकतान्त्रिक र यूनाइटेड ग्रीन अर्गनाइजेसन पार्टीले आफ्नो चुनाव चिह्नबाट चुनाव लड्न नपाउने भएका हुन् । आफ्नै चुनाव चिन्हबाट आगामी निर्वाचनमा लड्न नपाउने प्रावधानले ती दलका नेतालाई समस्या परेको छ ।

संसदमा प्रतिनिधित्व नगर्ने दलले निर्वाचन आयोगले दिएको चिह्न लिएर स्वतन्त्र उम्मेदवार उठाएर मात्र चुनावमा प्रतिष्पर्धा गर्न पाउने भएका छन् । निर्वाचन कार्यालयका अनुसार संसदमा प्रतिनिधित्व गर्ने २७ दलमध्ये जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा माले, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम र खम्बुवान राष्ट्रिय मोर्चाले मात्र आफ्नै चुनाव चिह्नबाट चुनावमा प्रतिष्पर्धा गर्न पाउने छन् ।

आफ्नो चुनाव चिह्नबाट चुनाव लड्न नपाउने दलका नेतालाई निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारकारुपमा चुनाव चिह्न दिने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । जिल्लामा स्थापना हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत त्यस्ता दललाई चुनाव चिह्न छान्न दिइने जनाइएको छ । ‘संसदमा प्रतिनिधित्व नगर्ने दलले आफ्नो चुनाव चिह्न लिएर प्रतिष्पर्धा गर्न पाउने छैनन्,’ खत्रीले भने, ‘उनीहरुलाई चुनाव चिह्न छान्न दिइन्छ र रोजेको चिह्न लिएर मात्र चुनावी प्रतिष्पर्धामा जान पाउने व्यवस्था छ ।’ – नागरिकन्यूजबाट