बिहिबार बाक्लो कुहिरोले ढाकिएको दिक्तेलबजार । |
खोटाङ, १७ चैत्र । चैत्र महिना सुक्खा र धुलोमैलो उड्ने मौसम हो । तर, हप्ता दिन यता खोटाङमा वर्षा याममाजस्तै धुम्मिने, पानी पर्ने र हिलो मैलो बढेको छ ।
चैत्र लागे यता जिल्लामा बाक्लो कुहिरो लागीरहेको छ । असार साउनमाझैँ बेला बेलामा वर्षा पनि भइरहेको छ । चैत्रमा माघ फागुनमाभन्दा चिसो बढेको महसुस भएको स्थानीयको भनाई छ । धुम्मिने मौसमका कारण चैत्र ८ गते यता जिल्लाको खानीडाँडा र लामीडाँडा बिमानस्थलको उडान प्रभाबित हुँदैआएको छ । चैत्रमा पनि वर्षाकोजस्तो मौसम महसुस भएको भन्दै स्थानीय अचम्मित बनेका छन् ।
बढ्दो जलवायु परिवर्तनका कारण मौसममा अनपेक्षित परिवर्तन आइरहेको सामुदायीक बन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए । ‘हरेक महिना, हरेक वर्ष हामीले फरक–फरक तापक्रम महसुस गरिरहेका छौँ,’ राईले भने, ‘ग्लोबल वार्मिङकै कारण नयाँ प्रजातीका किरा फटेङ्ग्रा, ऐजेरु, बनस्पती देखिइरहेका छन् ।’