खोटाङ, २१ चैत । प्रेस काउन्सिल नेपालका सदस्य शुभेक्षा बिन्दुले पत्रकार आचार संहिता उल्लङ्घन गर्नेमा सबैभन्दा बढी अनलाईन देखिएको बताउनुभयो । 
प्रेस काउन्सिलको आयोजनामा सोमबार दिक्तेलमा आयोजित पत्रकार आचार संहिता जागरण अभियान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले अनलाईन बिरुद्ध महिनामा एक हजार वटासम्म उजुरी आएपछि छुट्टै अनलाईन आचारसंहिता ल्याउनु परेको बताउनुभयो । 
दिक्तेलस्थित होटल शुभदिनमा आयोजित कार्यक्रम बोल्दै उहाँले पछिल्लो समय मोफसलमा ‘हुबहु’ पत्रकारिता मौलाउँदै गएको बताउनुभयो । “कतिपय जिल्लामा एउटै समाचार विभिन्न पत्रपत्रिकामा हुबहु छाप्ने गरेको देखिएको छ ।” उहाँले भन्नुभयो, “पत्रकारहरु श्रमजीवि भएकाले समाचार खोज्न र लेख्नमा अल्छी गर्नुहुन्न ।”
करिब तीन घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चार माध्यमका प्रकाशक तथा सम्पादकहरुले पत्रपत्रिका वर्गीकरणमा केन्द्र र जिल्लालाई एउटै नजरले हेर्न नहुने बताएका छन् । “मोफसलमा रहेका पत्रपत्रिकाको छुट्टै पहिचान छ ।” खोटाङ खबर साप्ताहिकका प्रकाशक÷सम्पादक दिलीप खत्रीले भन्नुभयो, “मोफसलमा प्रकाशन हुने पत्रपत्रिकाको मुल्याङ्कन गर्न छुट्टै मापदण्ड बनाइनुपर्छ ।”
कार्यक्रममा सदस्य चेतनाथ धमला, सूचना अधिकारी दिपक खनाल, प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुख, सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।