खोटाङ, २३ चैत्र । रामनवमीको अवसरमा खोटाङको हलेसीमा लागेको मेलामा अबैधरुपमा जुवाजन्य खेल खेलाइएको स्थानीयले गुनासो गरेका छन् । स्थानीयको बिरोधका बावजुद पनि मिलोमतोमा रामनवमी मेलामा प्रहरीकै अगाडि घुर्रा, चर्खा, डाईस जस्ता जुवाजन्य खेल खेलाइएको पाइएको हो ।
प्रशासनको अनुमती बिना अबैधरुपमा ठेकेदारले जुवाजन्य खेल खेलाएर मेलामा आएका सर्वसाधारणलाई ठगी गरिरहेको स्थानीयको गुनासो छ । मंगलबार ईलाका प्रहरी कार्यालय हलेसीमा भएको छलफलमा जुवाजन्य खेल खेलाउन रोक लगाउने निर्णय गरिएको भएपनि जुवाजन्य खेललाई निरन्तरता दिइएको पाइएको स्थानीय श्यामचन्द्र राईले बताए ।
तराईबाट ट्रकभरी सामान लिएर आएका खेलका सञ्चालकले बजार व्यवस्थापन समिति, बजारमा प्रभाव राख्ने स्थानीय, प्रहरी लगायतसँगको मिलेमतोमा जुवाजन्य खेल खेलाइएको स्थानीयको आरोप छ । प्रशासनबाट रोटेपिङ, साँस्कृतिक कार्यक्रम, डाईस, तिर, रिङ लगायतका खेल खेलाउने अनुमती पाए पनि सञ्चालकले मिलेमतोमा घुर्रा÷चर्खा खेल खेलाइरहेको राईले बताए । सञ्चालकमध्येकै केही जना आफैले घुर्रा खेलेर हजारौंको हारजीत भएको देखाएर यसप्रति सोझासिधालाई आकर्षित गर्ने गरेको पाइएको छ । अबैध जुवाजन्य खेलले बजारमा आएका स्थानीयलाई रित्तो बनाइरहेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए ।
गत वर्ष खेल खेलाउन आएका सञ्चालकलाई भने नाचगान गर्न मात्र दिइएको थियो । जुवाजन्य खेल डाईसलाई लक्की सिक्सको नामबाट मेलामा सञ्चालन गरिरहेको पाइएको छ । ईलाका प्रहरी कार्यालय हलेसीका सई राजेन्द्रबीर पाण्डेले भने प्रशासनबाट अनुमती नपाएका जुवाजन्य खेललाई रोक लगाइसकिएको बताए ।