खोटाङ, २२ जेठ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म तीसवटा भन्दा बढी खसीबाख्रा मारीसकेको छ ।
जङ्गलबाट गाउँ पसेको चितुवाले चार दिनअघि एकै पटक स्थानीय टंक तिमल्सिनाको तीनवटा खसी मारेको स्थानीय पशु प्राविधिक दिपेश खड्काले जानकारी दिनुभयो । “स्थानीयस सनमान खड्काको यसअघि पटक–पटक गरेर १२ वटा खसीबाख्रा मारेको थियो ।” उहाँले भन्नुभयो, “राति खोरमा पसेर र दिउसो चरणमा गएको समयमा चितुवाले अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारी सकेको छ ।”
करिब तीन महिनाअघिदेखि गाउँ पसेको चितुवाले दर्जनबढी खसीबाख्रा घाइते बनाएको स्थानीयले बताएका छन् । गाउँमा पसेर चितुवाले धमाधम खसीबाख्रा मार्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
घटनाको प्रकृति हेर्दा चितुवा नभइ बाघ नै गाउँ पसेको हुन सक्ने अनुमान गरिएको पीडित सनमान खड्काले बताउनुभयो । खड्काका अनुसार चितुवाले मारेको भनिएको बाख्राखसी मारेकै ठाउँमा खाइ सक्ने गरेको छ ।
यसअघि गत वर्षपनि गाउँमा बाघ पसेर गाईगोरुसमेत खाइ दिएको स्थानीयले बताएका छन् । यस वर्ष पनि सोही बाघ गाउँ पसेको स्थानीयको अनुमान छ ।