खोटाङ ३१ जेठ
जिल्लाका दश स्थानीय तहमध्ये आगामी निर्वाचनमा खोटेहाङ गाउँपालिका जिल्लाकै पेचिलो र प्रतिष्ठाको निर्वाचन बन्ने देखिएको छ । चुनाव पेचिलो बन्दै जाँदा घरदैलो, चुनावी सभा, विपक्षी पार्टी कार्यकर्ता आफ्नामा तान्ने, तथा शक्ति प्रदर्शन गर्नुका साथै आरोप प्रत्यारोप लगाउने गतिविधि समेत बढेर गएको छ ।
खोटहाङमा माओवादी केन्द्रले प्रमुखमा राजन ढकाल र उप्रमुखमा बिनिता राईलाई उठाएको छ । नेकपा एमालेले प्रमुखमा प्रदिप राई र उपप्रमुखमा कविता राईलाई उठाएको छ । नेपाली कांग्रेसले प्रमुखमा प्रेम कुमार राई र उपप्रमुखमा उषाकला राईलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेका सांसद विशाल भट्टराईले प्रत्यक्ष निर्वाचन जितेको क्षेत्र र आफ्नो जन्मथलो पनि खोटेहाङमा नै रहेकाले एमालेले प्रतिष्ठाको रुपमा लिदैं जसरी पनि खोटेहाङ जित्ने योजना बनाएको छ । केन्द्रीय सदस्य राजन राई लगायत अन्य नेता समेत खोटेहाङलाई प्रतिष्ठाको रुपमा चित्रण गर्दै चुनावी प्रचारमा खटिएका छन् । एमाले र माओवादी दुवैले जित्ने दाबी गरेको खोटेहाङमा मुख्य दाबेदार नेकपा माओवादी केन्द्रले दरिलो उम्मेदवार खडा गरेसँगै चुनावी भिडन्त पेचिलो बनेर गएको हो ।
माओवादी केन्द्रले गरेको चुनावी सभामा नृत्य प्रस्तुत गर्दै कलाकार । |
आफ्नो क्षेत्रमा जित दिलाउन सांसद विशाल भट्टराई लागेका छन् । गाउँपालिकाको केन्द्र खोटाङ बजारमा तोक्दा पालिकाका ५ मध्ये ४ वडाले भने एमालेले बिगारेको आरोप लगाउने गरेका छन् । चार वटा वडाको बुझाई अझै पनि इन्द्रेणी पोखरीमा राख्दा उचित हुने राय रहने गरेको छ । पाँच मध्ये चार वडामा केन्द्र तोक्ने विषयले एमालेलाई केही क्षति पुर्याउने देखिएको छ ।
माओवादी केन्द्रका उम्मेदवार राजन ढकाल प्राध्यापन छाडेर गाउँपालिका प्रमुखका लागि उम्मेदवार बनेका व्यक्ति हुन् । उनले १२ वर्ष त्यहाँको माविमा प्र.अका रुपमा काम गरे भने, त्यसपछि क्याम्पस प्रमुख समेत बने । सिम्पानीको नाम जिल्लामा चिनाउन र त्यहाँको शैक्षिक विकास गर्न कसैले भूमिका खेलेको छ भने त्यसमा राजन ढकाल भनेर नाम जोडिने गरेको छ । उनको इमान्दारिता, स्वच्छ छविका कारण उनलाई केही सहज भने हुने देखिएको छ । स्वयम् ढकाल अन्य पार्टीका आस्था राख्नेहरुले भोट हाल्ने बताइरहेकाे जनाउँछन् ।
‘शहर छाडेर गाउँमै बसे, गाउँमै पढाए, गाउँकै विकास गरे, जति सामाजिक संस्थामा काम गरे नमुनाका रुपमा काम गरेको छु । विकासमा पनि नमुनाका रुपमा अगुवाई गरेको छु,’ ढकालले हाम्रो खोटाङ डटकमसँग भने, ‘अन्य उम्मेदवार भन्दा मेरो उम्मेदवारी प्रभावकारी छ, राजन ढकालले यो ठाउँलाई बनाए, भोट दिनुपर्छ भनेर अन्य आस्था राख्ने मान्छेले पनि भनिरहेका छन् ।’
उनी लिकुवा पोखरी, सावा कटहरे, वाक्लुखामा संगठन राम्रो भएको तथा सिम्पानी कर्मथलो र लिचिराम्चे जन्मथालो भएकाले र ती क्षेत्रहरुमा आफ्नो पसिना बगेकाले पनि अरु संगठनको भन्दा ठूलै मतअन्तरले जित निस्कने दाबी गर्छन् ।
चुनावी प्रचारमा सांसद विशाल भटुटराई र के.स राजन राई ।
|
एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा खोटेहाङ निवासी सांसद विशाल भट्टराईले माओवादी केन्द्र लगायत दलहरुबिच चुनावी तालमेल नभई सिंगल सिंगल लडेको अवस्थामा आफ्नो दलले सहजै जित्ने दाबी गर्छन् । प्रतिस्पर्धा भने माओवादी केन्द्रसँगै हुने उनको भनाई छ ।
एमाले नेताहरु मुख्य प्रतिस्पर्धा माओवादीसँग रहेको स्वीकार्दै जित भने आफ्नै हुने दाबी गरेपनि माओवादी केन्द्र भने यो कुरा मान्न तयार छैन । उनीहरु जित आफ्नो पक्षमा आईसकेको र अब घोषणा हुन मात्र बाँकी रहेको दाबी समेत गर्छन् ।