दिक्तेल १ असार
रुपाकोट मझुवागढी नगरपालिका अन्तरगत दिक्तेलमा अरु दिन भन्दा फरक दृश्य देखियो बिहीबार । बजारभरी राता मान्छेहरु भरी भराउ थिए । हँसिया हतौडा अंकित झण्डा र टिसर्टधारी मान्छेहरुको झण्डै पाँच सय हुल एकैसाथ दिक्तेलमा निस्कदा चोक चोक गल्ली गल्लीमा रौनकता छाएको थियो ।
अरु दिन सामान्य चुनावी प्रचार प्रसार हुने दिक्तेलमा बिहीबार माओवादी केन्द्रले आफ्ना उम्मेदवारसहित घरदैलो कार्यक्रम गरेको थियो ।
रुपाकोट मझुवागढी नगरपालिकाको लागि मेयर पदका उम्मेदवार बन्नुभएकी दुर्गाजयन्ती राईलाई जिताउन पार्टी शुभेच्छुक, कार्यकर्ता मात्रै नभएर नगरभित्रका महिलाहरु समेत कस्सिएका थिए ।
नेपाली काँग्रेस, नेकपा (एमाले), संघीय समाजवादी पार्टी फोरम लगायत अन्य पार्टीबाट मेयर पदमा पुरुष मात्र उम्मेदवार बनेपछि पूर्व सभाषद्समेत रहनुभएकी उम्मेदवार राईलाई जिताउन नगरभित्रका सर्वसाधारण महिलाहरुसमेत घरदैलो अभियानमा जुटेका छन् । नगरवासी महिलाहरु भेला भएर एक मात्र महिला उम्मेदवारलाई जिताउन बिहीबार नाराजुलुससहित बजार परिक्रमा समेत गरेका छन् ।
महिलाको सवालमा पुरुषभन्दा महिलाले नै महिलाको भावना बुझ्ने भएकाले पनि दुर्गाजयन्तीलाई जिताउन आवश्यक रहेको महिलाहरुले बताएका छन् । “दुर्गाजयन्ती राई महिलाको मात्र नभइ जिल्लावासीकै नेता हुनुहुन्छ ।” रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकी अष्टलक्ष्मी राईले भन्नुभयो, “पछिल्लो समयमा बन्दै गएको माहोल हेर्दा उहाँको जित सुनिश्चित जस्तै बनेको छ ।”
पार्टीको पोलिट ब्युरो सदस्य समेत रहनुभएकी उम्मेदवार राईले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो । “अहिले पुरुष दाजुभाइसँगै सबै महिला दिदीबहिनीहरु पनि उत्तिकै सचेत भइसक्नुभएको छ ।” उहाँले भन्नुभयो, “नगरको समग्र विकाससँगै महिलाको अधिकार स्थापित गर्नका लागि उहाँहरुले मलाई विजयी गराउनुहुन्छ ।”
विद्यार्थी राजनीतिबाट मूलधारको राजनीति सुरु गर्नुभएकी उम्मेदवार राई २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिक कोटाबाट सभासद बन्नुभएको थियो । जिल्लामा महिला नेतृमध्य अब्बल मानिने उम्मेदवार राई २०७० सालको संविधानसभाको चुनावमा एक नम्बर क्षेत्रबाट प्रत्यक्ष तर्फको उम्मेदवार भइ पराजित हुनुभएको थियो ।
रुपाकोट मझुवागढी नगरपालिकामा महिला उम्मेदवार उठाएको माओवादी केन्द्रले जिल्लाका अन्य चार स्थानमा समेत प्रमुख पदमा महिला नै उम्मेदवार बनाएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा माओवादी केन्द्रले लामीडाँडा गाउँपालिकामा डा. चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिकामा मनकुमारी रसाईली (रश्मी), बराहपोखरी गाउँपालिकामा निशाना राई र जन्तेढुङ्गा गाउँपालिकामा अरुणा राई (दीक्षा)लाई उम्मेदवार बनाएको हो ।