खोटाङ ११ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुपाकोट मझुवागढी नगरपालिकाका मेयर र उपमेयरलाई जिताउनु आफूलाई जिताउनु सरह रहेको बताएका छन् ।
अध्यक्ष प्रचण्डले माओवादीका उम्मेदवारलाई जिताउन आग्रह गर्दै खोटाङलाई आफूले जस्तो सुकै हर सहयोग गर्न तयार रहेको समेत बताए । ‘उम्मेदवारका पछाडी प्रचण्ड छ, तपाईहरुको पछाडी र माओवादी केन्द्रका उम्मेदवारहरुको पछाडी पार्टी केन्द्र छ, प्रचण्ड छ,’ दिक्तेलमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘दुर्गा जयन्तीसँग हटलाइन रिलेशन हुनेछ, मेरो यो जिल्लालाई सबै सहयोग साथ रहने छ ।’
प्रचण्डले कांग्रेस एमालेबाट पञ्चायत फर्काउने खतरा रहेको भन्दै परिवर्तन उल्टाउन नदिन जनतालाई सचेत हुन आग्रह समेत गरे ।
प्रचण्डले जनसरकारमा एजेण्डा प्रस्तुत गर्ने पार्टी विजयी नभएर कांग्रेस एमाले नै आएमा विकास निर्माण गर्ने, समृद्धि गर्ने, जनताको सेवा गर्ने, समृद्धिका लागि गर्ने भन्दा गाउँ पञ्चायत बनाउने खतरा रहेको औल्याए ।
प्रचण्डले माओवादी केन्द्रले खोटांगमा पाँच महिला, पाँच पुरुष प्रमुख उठाएको भन्दै ऐतिहासिक जिल्लाको संज्ञा समेत दिए ।
प्रचण्डले कांग्रेस एमाले गणतन्त्रवादी पार्टी नभएको समेत बताए । उनले एमालेको राजावादीसँग प्रेम बढीरहेको र माओवादीसँग भने घट्दै गएको उल्लेख गरे । ‘एमालेका नेताहरुको हिमचिम, उठबस राजावादीसँग प्रेम बसेको छ, राजावादी र ज्ञानेन्द्रसँग प्रेम बढेको र हामीसँग घटेको छ,’ उनले भने, ‘गणतन्त्रप्रति रुष्ट हुनु कहीँ न कहीँ राजतन्त्रसँग हिजोको सिस्टमसँग अनुराग छ,नत्र कसैको बिहेमा एउटा जाने, एउटाको ब्रत बन्धमा अर्को पुग्ने कुनै कारण हुँदैन थियो । हेर्दा सामानय देखिन्छ तर गहिरो छ ।’
प्रचण्डले संघीय गणतन्त्र माओवादीसँग अभिन्न रुपमा गासिएको र संविधान बनाउनु तथा कार्यान्वयन गर्नु पनि माओवादीसँग गासिएको बताए ।
उनले स्थानीय तह गाउँ पञ्चायत र गाविसको परिवर्तन रुप भएको भन्दै नेपालको इतिहासममा पहिलो पटक संविधानको अधिकार स्थानीय तहको निर्वाचन हुँदै गएको समेत बताए । उनले स्थानीय तहलाई अधिकार सम्पन्न जनसरकारको संज्ञा समेत दिए ।