खोटाङ २ साउन । मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएका एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय सदस्य खोटाङ लामिडाँडा गाउँपालिका–३ का मिलन राईको स्मृतिमा ‘मिलन राई स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ । 
छोटो समयमा नै लोकप्रियता कमाउन सफल विद्यार्थी नेता राईको स्मृतिमा प्रतिष्ठान स्थापना गरिएको हो । 
काठमाण्डौंबाट जिल्ला फर्कने क्रममा राईको भक्तपुरमा सडक दुर्घटनामा परी उपचारको क्रममा निधन भएको थियो । नेता राईको स्मृतिमा स्थापित प्रतिष्ठानले तत्कालै कोष खडा गरी शैक्षिक क्षेत्र तथा सामाजिक बिकासको कार्यहरु गर्ने प्रतिष्ठानका अध्यक्ष पदम थुलुङ राईले जनाउनुभयो । हालै दर्ता भएको प्रतिष्ठानले राईको समाधिस्थलमा स्मृति पार्क निर्माण गरी प्रतिमा समेत स्थापना गर्ने निर्णय गरेको जनाएका छन् । 
प्रतिष्ठान सञ्चालनका लागि शुभेच्छुक, शुभचिन्तक तथा देश बिदेशमा रहेका ब्यक्ति, संघसंस्थाहरुबाट रकम जुटाउने तयारी गरिएको छ । राईले बोकेका बिकासका सपना तथा योजनाहरु पुरा गर्न प्रतिष्ठानले पहलकदमी चाल्ने अध्यक्ष राईको भनाई छ । थुलुङले प्रतिष्ठानलाई सहयोग गरी बिद्यार्थी नेताको अधुरा रहेका सपना पुरा गर्न योगदान गर्न समस्त बिकासप्रेमीहरुमा अपिल समेत गर्नुभयो । हालसम्म प्रतिष्ठानको नाममा करिब चार लाख रुपैंयाँ जुटि सकेको अध्यक्ष थुलुङले उल्लेख गर्नभयो । 
२७ बर्षको अल्पायुमै निधन भएको केन्द्रीय सदस्य राईले खोटाङ र सोलुखुम्बुको बिद्यार्थी ईन्चार्जको समेत जिम्मेवारी सम्हालिरहनुभएको थियो । राई खोटाङ क्षेत्र नम्बर दुईबाट निर्बाचित सांसद बिशाल भट्टराईको स्वकीय सचिब रहनुभएको थियो ।