रामधन राई

खोटाङ ४ साउन । कालोपत्रेको काममा ढिलाई तथा अत्यन्त गुणस्तरहिन भएकोमा चरम जनगुनासो आईरहहेको मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक खण्डमा निर्माण गरिएको ड्रेन वर्षाका कारण भत्किएको छ । उक्त सडक खण्डको कारागार, मुढे र नुनथला आसपासका सडकको कुनामा निर्माण गरिएको ड्रेन वर्षाका भेलका कारण कामै नलाग्ने भत्काएको पाइएको हो । 
कामको जिम्मा लिएका मूख्य ठेकेदारले बढि नाफा कमाउने उद्धेश्यले काम गर्दा र बिभिन्न पेटी ठेकेदारलाई कामको जिम्मा दिँदा कालोपत्रेका काम गुणस्तरहिन भएको स्थानीय गोपालचन्द्र आचार्यले बताउनुभयो । सडकका अधिकांश ड्रेन, पर्खाल, नाली र डिलमा बनाइएका पिल्लरलाई कोट्याउँदा सहजै कोटिने, चोइटिने र धुलो झर्ने गरेको स्थानीयको भनाई छ । 
सिमेन्ट र बालुवाबाट बनाइएका पर्खाललाई क्यूरिङ अर्थात नियमित पानीले नभिजाउँदा सडकको संरचना कमजोर बनेको स्थानीयको दाबी छ । ३ वर्षभित्र कालोपत्रेका काम पूरा गर्नेगरी २०७१ साउन अन्तिम साता सुरु गरिएको दिक्तेल–हलेसी सडक कालोपत्रेका कामको म्याद गत मार्चमै सकिएको छ । हलेसी–बिजुले १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा सुर्य कन्ट्रक्सन, बिजुले–हुर्लुङ–दिक्तेल २३.४ किलोमिटर सडक कालोपत्रेका काम लामा नागार्जुन त्रिसुलीले गरिरहेको छ ।