खोटाङ, १० साउन । भूकम्पपीडितका लागि पहिलो किस्तावापत खोटाङमा आएको रु ३७ करोड ५१ लाख १७ हजार रकममध्ये हालसम्म रु ३६ करोड तीन लाख ७७ हजार रकम वितरण गरिएको छ ।
आठ हजार ४४३ लाभग्राही रहेको जिल्लामा पुरोनो संरचना अनुसार दुर्छिम र चिप्रिङ गाविस बाहेकका लाभग्राहीलाई उक्त बराबरको रकम वितरण गरिएको हो ।
तथ्याङ्क संकलनका क्रममा दुर्छिम र चिप्रिङ गाविसका लाभग्राहीको नाम र सम्झौता नम्बर फरक परेकाले तत्काल वितरण गर्न नसकिएको आयोजना निर्देशक ईश्वरचन्द्र महरहट्टाले जानकारी दिनुभयो । “उनीहरुको हकमा सच्याउने काम भइरहेको छ ।” उहाँले भन्नुभयो, “प्राविधिक कुरा मिल्नासाथ वितरण गरिन्छ ।”
पहिलो किस्ता वापतको रकम आगामी कातिक मसान्तसम्म वितरण गरिने जनाइएको छ । लाभग्राहीका लागि जिल्लामा राष्ट्रिय वाणिज्य बैंक, सेन्चुरी कर्मसिल बैंक, बैंक अफ काठमाडौं र सालपा विकास बैंकमार्फत भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।
कमप्रभावित १७ जिल्लामध्ये लाभग्राहीका लागि छिटो रकम वितरण गर्नेमा खोटाङ पहिलो भएको दाबी गरिएको छ । भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि जिल्लामा पुनःनिर्माणका काम भने प्रभावकारी रुपमा हुन सकेको छैन ।