साउन १४ । माइती घरबाट फर्कने क्रममा हत्या गरिएको अवस्थामा फेला परेकी खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी बिकको हत्यामा संलग्न दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न जिल्लाका जननिर्वाचित प्रतिनिधिले माग गरेका छन् ।
सांसद विशाल भट्टराई लगायत जन्तेढुंगा, खोटेहाङ र बराहपोखरी गाउँपालिकाका प्रमुख, उपप्रमुखको टोलीले माईती घरबाट फर्कने क्रमममा जन्तेढुंगा गाउँपालिका–३ काहुलेस्थित छिमाहा जंगलमा विभत्स अवस्थामा मृत भेटिएकी बिकको हत्यामा संलग्न दोषी पत्ता लगाएर कानूनी कारबाहीका लागि माग गरेका हुन् ।
जनप्रतिनिधिले दोषीलाई उन्मुक्ती नदिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी सन्तोष सुवेदी र प्रहरी नायब उपरिक्षक नविनकिशोर प्रधानको ध्यानाकर्षण गराएका छन् । देबीको विभत्स र पासविक हत्या गर्ने दोषी पत्ता नलाग्दा स्थानीयले असुरक्षित महसुस गरेको सांसद भट्टराईले बताए ।
माईती घर जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयबाट घर फर्कनेक्रममा सम्पर्क विहिन बनेको दोश्रो दिन साउन ५ गते बिक मृत अवस्थामा फेला परेकी थिइन् । बिकको शव सडकभन्दा करिब पाँच सय मिटर तल कम्मरमुनिको कपडा खोलिएको, नाकबाट रगत बगिरहेको अवस्थामा भेटिएकाले घट्नालाई शंकास्पद मानिएको छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक प्रधानले जवाफ दिए ।
देबीका श्रीमान भने रोजगारीका सिलसिलामा विदेशमा छन् । बिक दम्पत्तीका एक छोरा र पाँच छोरी छन् ।