साउन १६ । खोटाङमा विभिन्न कार्यक्रम गर्दै २७ औं ‘मनोज–झपेन्द्र’ स्मृति दिवस आइतबार मनाइएको छ ।
२०४८ साल साउन–१५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरुले सदरमुकाम दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका बेलामा प्रहरीको गोली लागेर १८ वर्षको उमेरमा ज्यान गुमाएका मनोज जोशीको स्मृतिमा दिवस मनाईएको हो ।
तत्कालिन सरकार बिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसका रुपमा मनाइदै आइएको छ ।
दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थी जोशीको हत्या भएको घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । खोटाङमा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले साउन १० देखि मनोजमार्ग सरसफाई, साउन १४ गते अस्पतालका बिरामीलाई फलफुल वितरण तथा मौन जुलुस प्रदर्शन लगायतका कार्यक्रम गर्दै मनाइरहेको मनोज–झपेन्द्र स्मृति दिवस आईतबार समापन गरिएको छ ।
मनोजको हत्या भए लगत्तै एक छानबीन समिति गठन गरिएपनि अहिलेसम्म दोषीलाई कारबाही र पिडितलाई क्षतीपूर्तीको व्यवस्था हुन नसकेको मनोज परिवारको गुनासो छ । यसबाहेक जोशीलाई शहीदकोरुपमा घोषणा गर्नुपर्ने कर्मचारी संगठन तथा परिवारको माग पनि अहिलेसम्म सम्बोधन हुन नसकेको मनोज स्मृति प्रतिष्ठानका अध्यक्ष कुमार आचार्यले बताउनुभयो ।