खोटाङ १८ साउन
खोटाङको दिप्रुङ गाउँपालिकाको केन्द्र सबैको सहज हुने स्थानमा राख्नुपर्ने माग पुनः उठेको छ ।
गाउँपालिकाको केन्द्र पहुँचवाला नेताले आफ्नो घरपायकमा राखेको भन्दै काठमाडौंमा बस्ने सरोकारवाला आक्रोसित समेत बनेका छन् । काठमाडौंमा बस्ने दिप्रुङवासीले केही दिन अगाडी राजधानीमा अन्तरक्रिया तथा छलफल गरेर सबैको सहज हुने स्थानमा केन्द्र राख्न माग समेत गरेका छन् ।
स्थानीय तहको निर्वाचन अगाडी पालिकाको नाम र केन्द्र परिवर्तन गर्न गठित चूईचुम्मा दिप्रुङ गाउँपालिका संघर्ष समितिले ज़िल्लामा पुगेर जिल्ला समन्वय समिति, प्रमुख ज़िल्ला अधिकारी, ज़िल्लाका सबै पाटी प्रतिनिधि लगायत ज़िल्ला शान्ति समिति तथा सम्बन्धित मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाई सकेको चुईचूँम्मा दिप्रुङ सरोकार समितिका सचिव नवराज रोकाले जानकारी दिए ।
जिल्लामा पटक पटक बैठक बस्न दलका नेतालाई बोलाउदा बैठक मैं नआई टारेकोले भन्दै समिति झनै असन्तुष्ट बनेको छ । संघर्ष समितिले निर्वाचन पश्चात बहुमतका आधारमा सबैलाई पायक पर्ने गरी डाडागाउँको दसमीडाँडामा राख्ने र अपायक भएको कुरा जिल्लाका सबै दलका नेतृत्वले स्वीकार गरेपनि यसलाई आलटल गरेको भन्दै उनीहरुले संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन् ।