•   सबै वडाहरुमा पुगेर मतदातालाई धन्यवाद दिइने

खोटाङ १९ साउन

नेकपा माओवादी केन्द्र खोटाङको जिल्लास्तरीय बैठक तीन दिनसम्म सञ्चालनपछि बिहीबार सम्पन्न भएको छ । रुपाकोट मझुवागढी नगरपालिकाको नुनथलामा तीन दिनसम्म चलेको बैठकमा मुख्य गरेर पार्टी हारको विषयमा समिक्षा भएको थियो ।

बैठकले पार्टी हार्नुका पछाडी संगठन कमजोर हुनु, आफ्ना एजेण्डाहरु जनतालाई बुझाउन नसक्नु, प्राविधिक विषय मिलाउन नसक्नु, नेताहरुले परिणाम दिन सक्ने गरी नेतृत्वदायी भूमिका खेल्न नसक्नु लगायत कारण रहेको निष्कर्ष निकालेको छ ।
बैठकमा नेताहरुले गाउँ–गाउँमा संगठन निर्माण गर्न चासो नदेखाएको भन्दै नेतृत्व तहको आलोचना भएको थियो । चुनावमा परिणाम निकाल्ने गरी नेतृत्व तहले भूमिका नखेलेको समेत आवाज उठेको थियो । कतिपय ठाउँमा अन्तरघातकै कारण वडाहरुमा पराजय हुनु परेको परेको समेत बैठकमा कुरा उठेको एक नेताले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यालय सदस्य टंक राईले माओवादी केन्द्र सैद्धान्तिक तथा वैचारिक रुपमा अघि भएपनि व्यवहारिक रुपमा मात्र पछि परेको भन्दै व्यवहारिक पक्षबारे प्रशिक्षणात्मक तवरले मन्तव्य राखेका थिए । 

मतदातालाई धन्यवाद दिइने
माओवादी केन्द्र खोटाङले सबै मतदाताहरुलाई गाउँ गाउँमै पुगेर धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । 
बैठकले सबै गाउँ गाउँमा पुगेर बैठक गर्ने तथा मतदाताहरुलाई धन्यवाद दिने निर्णय गरेको पार्टी सचिवालय सदस्य समेत रहनु भएकी नेतृ दुर्गा जयन्ती राईले जानकारी दिनुभयो । भदौ १२ देखि प्रदेशको प्रशिक्षण रहेकाले त्यसअगाडी नै सबै ठाउँमा पुगेर मतदातालाई धन्यवाद दिने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको आगामी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि तथा पर्यवेक्षकको विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ ।