खोटाङ, २१ साउन । रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेलबजारमा शनिबार आयोजना गरिएको ‘लाखे महोत्सव २०७४’ सम्पन्न भएको छ । साँस्कृतिक तथा व्यापारिक प्रबद्र्धन गर्ने उद्देश्यका साथ युवा उद्यमी मञ्च खोटाङले एक दिने लाखे महोत्सव आयोजना गरेको हो ।
नगरपालिका भित्र पर्ने खाल्ले, दिक्तेल, सोल्मा, बुइपा, जालपा, खार्मी, दोबेला तथा राजधानी काठमाडौं लगायतका नेवारी समुदायले महोत्सवमा भाग लिएको आयोजक समितिका प्रवक्ता मनोजकुमार वजिमयले बताउनुभयो । “युवा पुस्तालाई सँस्कृतिको विषयमा जानकारी दिन र हराउँदै गएको सँस्कृति जगेर्ना गर्न लाखे महोत्सव आयोजना गरिएको हो ।” उहाँले भन्नुभयो, “यो लाखे महोत्सवले साँस्कृतिक प्रर्बद्धनसँगै जिल्लाको व्यापारिक प्रर्बद्धनमा समेत टेवा पुगेको छ ।”
महोत्सवमा लाखे ना“च, भैरव नाच, कुमारी नाच, मयुर नाच, चरिया नाच, ठाकठुके नाच (घिन्ताङ घिसी), रोपाई जात्रा लगायत प्रदर्शन गरिएको थियो । महोत्सवमा राजधानी काठमाडौंका कलाकारसमेत सहभागी भएकाले निक्कै रौनक छाएको थियो ।
महोत्सव आयोजनास्थल पुग्नुअघि विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित बजार परिक्रमा गरिएको थियो । लाखे महोत्सव आयोजना गरिनेभएपछि हप्तादिन अघिदेखि नै सदरमुकाम दिक्तेल बेहुली झै सजाइएको थियो ।
प्रथम लाखे महोत्सवका कारण फरक–फरक स्थानमा फरक–फरक चाल र शैलीमा नाचिने विभिन्न किसिमका लाखे नाचलाई एकै थलोमा उभ्याएको थियो । ‘हाम्रो नगर हाम्रो शान, हाम्रो सँस्कृति आफ्नै पहिचान’ भन्ने मुल नाराका साथ दिक्तेलमा प्रथम लाखे महोत्सव २०७४ आयोजना गरिएको हो ।
लाखे महोत्सवले दिक्तेलको मात्र नभइ सिङ्गो जिल्लाको आर्थिक विकासमा सहयोग पुगेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “स्थानीय तहको कार्यान्वयनका कारण विकेन्द्रीकृत भएको बजारलाई केन्द्रीकृत गर्न लाखे महोत्सवको परिकल्पना गरिएको हो ।” उहाँले भन्नुभयो, “नेवार समुदायको परम्परागत लाखे नाचमा बालबालिकादेखि बृद्धबृद्धासम्म रमेका छन् ।”
जिल्लाका युवाहरुको सक्रियतामा गठन भएको मञ्चले आगामी दिनमा अन्य जातजातिको सँस्कृति झल्कने किसिमको महोत्सव पनि निरन्तर गर्दै जाने जनाएको छ । उद्योग वाणिज्य सङ्घ खोटाङको प्रर्बद्धन तथा दिक्तेलबजार सामाजिक गुठीको संरक्षणमा महोत्सवको आयोजना गरिएको हो ।