साउन २२ । खोटाङका स्थानीय नब युवाहरुको शसक्त प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘साँघुरो दलन’को चर्चा यतिखेर गाउँदेखि शहरसम्म फैलिएका छन् । टिसर्ट, पोष्टर, पम्प्लेटदेखि युट्युब लगायतका सामाजिक सञ्जालहरुमा समेत केही दिनदेखि बाक्लो रुपमा ‘साँघुरो दलन’को चर्चा देख्न सकिन्छ । फेसबुकको प्रोफाईल तस्बिरमा समेत सयौंको संख्यामा ‘साँघुरो दलन’का पोष्टर देख्न थालिएपछि जिल्ला तथा जिल्ला बाहिरका कलाप्रेमीहरु चलचित्रको पर्खाईमा आफ्नो धैर्यता साँघुरो बनाएको भेटिन्छन् । 
कला क्षेत्रबाट सिङ्गो देश तथा समाजको चित्रण गर्दै आफ्नो गाउँसमाजलाई सही
बाटो लगाउन जिम्मेवार ढंगले शसक्त भुमिका निर्बाह गर्ने एक भरसिलो युवा
जमातको बेजोड् प्रस्तुती मानिएको छ नेपाली कथानक चलचित्र ‘साँघुरो दलन’लाई ।
यसअघि नै ‘नतिजा’ र ‘कुईने’ जस्ता चलचित्रलाई स्थानीय रुपमा उपलब्ध श्रोत,
साधन तथा जनशक्तिको भरमा  निर्माण तथा प्रदर्शन गरिसकेको खोटाङका
युवाहरुको निख्खारिएको प्रस्तुति ‘साँघुरो दलन’मा देख्न सकिने स्थानीय
कलाप्रेमीहरुको आशा छ ।
बिभिन्न सिर्जनात्मक गतिबिधीमा संलग्न भई फरक
पहिचान बनाउँदै जिल्लामा गर्बिलो तबरबाट स्थापित  बाल संस्था नमुना बाल
क्लवले निर्माण गरेको पछिल्लो चलचित्र ‘साँघुरो दलन’मा शुभचन्द्र राईको
निर्देशन रहेको छ ।
 

यसअघि नै काठमाण्डौंमा औपचारिक रुपमा फरक फरक कार्यक्रमहरुको आयोजना गरी पोस्टर, टिसर्ट तथा ट्रेलर सार्बजानिक गरिसकेको रोशन श्रेष्ठ निर्माता रहेको समुहले आउँदो साउन ३० गते काठमाण्डौंको बिश्वज्योती सिनेमा हलमा चलचित्रको बिशेष प्रदर्शनी गर्ने तयारी गरेको जनाएको छ । ‘समतामूलक समाजको निर्माण, नमुना बाल क्लवको अभियान’ भन्ने नारासहित स्थापना गर्न लागेको नमुना पुस्तकालयको सहयोगार्थ चलचित्रको प्रदर्शनी गर्न लागिएको बताईएको छ ।

आरबी शर्मा सहनिर्माता रहेको चलचित्रको कथा समेत निर्देशक शुभचन्द्र राईकै रहेको छ । संगीत लिम्बूले क्यामेरा चलाएको चलचित्रमा सञ्जिब राईको नृत्य निर्देशन र किशोर खनालको सम्पादन रहेको छ । सामाजिक यथार्थमा आधारित चलचित्रमा किराती मौलिक संस्कार, बेरोजगार युवा र बाध्यता लगायतका बिषयबस्तु उठान गरिएको निर्देशकको भनाई छ ।  अधिकांश छायाँङकन खोटाङमा गरिएको चलचित्रमा काठमाण्डौं र ईलामका दृश्यहरु समेत हेर्न पाईन्छ । चलचित्रमा शुभचन्द्र राई, कवि राई, रामचन्द्र राई, संञ्जिव राई, अंकिता राई, निता राई,आर वि शर्मा , रुपेश राई, देब राई , किशनकुमार राई लगायतको अभिनय रहेका छन् ।  टोलीमा आबद्घ अधिकांश कलाकारहरु नाटकका मञ्चबाट पर्दामा प्रबेश गर्दै गरेका हुन् । चलचित्रमा समाबेश सबै कलाकारहरु कला जगतमा टिक्न र बिक्न सक्ने गरी क्षमताको बिकास गर्दै निरन्तर मेहनत गरिरहेको अग्रज कलाकर्मीहरुको समीक्षा छ ।