खोटाङ २४ साउन । गाईजात्राको अवसरमा यो बर्षभित्र मृत्यु हुनेहरुको सम्झना गर्दै मृतककै जीवनी गाउँदा खोटाङका स्थानीय भाव विह्वल बनेका छन् । गाईजात्राको अवसरमा मृत्यु हुनेहरुको घरघरमा गई मृतकलाई श्रद्घाञ्जली दिँदै रामायण तथा मृतकका जीवनीमा आधारित गीत गाउँदा मृतकका परिवार, आफन्त तथा चिनजानका मानिसहरु भावविह्वल बनेका हुन् ।
बिभिन्न कार्यक्रम गरी मनाईने गाईजात्राको अवसरमा सदरमुकाम दिक्तेलबजारमा भने मृतकको नाममा बनाईएको प्रतिमा अर्थात तामचालाई बजार डुलाउँदै उनिहरुले जीवनकालमा गरेका राम्रा र उदाहरणीय कार्यहरुको गुनगान गाउँने गरिन्छ । भर्खरै मृत्यु भएकाको आनीबानी, अरुसँग गर्ने ब्यवहार बाँचुन्जेल उनले गरेका राम्रा कामहरुबारे गीत बनाई बाद्यबादनसहित गाउँदा मृतक झलझली आँखामै आउने दिध्क्तेलबजारको गाईजात्रामा सहभागी स्थानीय दर्शकको भनाई छ । यो बर्ष खोटाङका चिरपरिचित समाजसेवी तथा राजनीतिकर्मी दिक्तेलबजारका नारायण जोशी, खेलाडी दिपेश जोशी र शैक्षिक अभियन्ता पदमबहादुर बजिमयको निधन भएको थियो ।
मल्ल कालदेखि शुरु भएको यो पर्ब पितापुर्खाले परापुर्ब कालदेखि नै मनाउँदै आएकोमा पुस्ता हस्तान्तरका कारण पछिल्लो पुस्ताले समेत उत्तिकै महत्व र जिम्मेवारीका साथ लिने गरेको युवा संस्कृतिप्रेमी मनोज बजिमय बताउनुहुन्छ ।
मृतकलाई सम्झँदै दिनभर रामायण तथा जीवनी गाएर ठुलो संख्यामा आबद्घ भई घरैपिच्छे डुलिसकेपछि बेलुकी बिधिवत रुपले गाईजात्राको समापन गरिने नेवार समुदायका साँस्कृतिक अभियन्ता दिक्तेलबजार समाजिक गुठीका राजन सैंजुको भनाई छ । नेवार समुदायको अधिकांश बसोबास रहेको दिक्तेलबजारमा जात्रा लगायतको साँस्कृतिक गतिबिधिहरुलाई २०५० सालमा स्थापित दिक्तेलबजार सामाजिक गुठीले ब्यवस्थित गर्दै आएको छ । जिल्लामा साबिकको खार्मी, बुइपा, दोर्पा, ऐसेलुखर्क, अर्खौले, लामिडाडाँ, जालपालगायतका स्थानमा गाईजात्रा मनाउने गरिएको छ ।