- कांग्रेस जिल्ला कार्य समितिको बैठक आज दोस्रो दिन
रामधन राई
खोटाङ १६ भदौ
खोटाङ १६ भदौ
नेपाली कांग्रेस पुर्व जिल्ला सभापति तथा महाधिवेशन महासमिति सदस्य विष्णुकुमार राईले स्थानीय तहको निर्वाचन नतिजाप्रति नेकपा एमाले लगायत पार्टी असन्तुष्ट रहेको भन्ने विषयलाई लिएर व्यंग्य गरेका छन् । निर्वाचन सम्पन्न भएको केही महिना बितिसकेको अवस्थामा उनले निर्वाचनमा विकास बजेटका नाममा करोडौं रकम चलखेल भएको विषय समेत खुलासा गरिदिएका छन् ।
राईले खोटाङ कांग्रेससँग विकास निर्माण भन्दै अतिरिक्त रु छ करोड वजेट विनियोजन गर्ने अवसर नरहेको भन्दै व्यंग्य मात्र नगरेर चुनावमा ठूलो चलखेल भएको विषय समेत खुलासा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा केही दिन अगाडी लामो स्टाटस लेख्दै उनले अतिरिक्त ६ करोड विनियोजन गर्दा राम्रो नतिजा आउनुपथ्र्यो भन्ने अनुमान रहेको भनेर एमालेप्रति व्यंग्य गरेका छन् । उनले स्टाटसको केही अगाडी ६ कराेडकाे प्रसंग उठाएका छन् भने लगत्तै नेकपा एमालेको नाम जोडेर अतिरिक्त बजेटको प्रसंग जोडेका छन् । जसमा भनिएको छ, ‘नेकपा एमालेले अतिरिक्त बजेट एक्लौटी बाँड्दा पनि उसको अपेक्षा पूरा गर्न जनार्दन (जनता) ले नमान्नु पर्ने कारण उहाँहरुको बैठकबाट के कस्तो विश्लेषण निस्कने हो…..’
नेकपा माओवादी केन्द्रले हप्ता दिन भन्दा अगाडी चुनावी समिक्षा बैठक सम्पन्न गरेको थियाे । नेकपा एमालेले समेत केही दिन अगाडी मात्र समिक्षा बैठक सम्पन्न गर्दै अपेक्षाकृत नतिजा नआएको निष्कर्ष निकाल्दै छानबिन समिति समेत गठन गरेको थियो । एमाले बैठकको निष्कर्षसँगै महासमिति सदस्य राईले चुनावी विषयमा रकम चलखेलसहितको विषय उठाएर एमालेमाथि नैतिक प्रश्न समेत खडा गरेका हुन् ।
उनले यस्तो लेखेका छन्
म सुन्दैछु- खोटाङका समकक्षी दलहरु पनि स्थानीय तहको निर्वाचन परिणामबाट सन्तुष्ट छैनन् रे, खोटाङ काँग्रेस पनि प्राप्त परिणाम बाट निःसन्देह सन्तुष्ट छैन । तर यथार्थ के हो भने खोटाङ काँगेससँग विकास निर्माण भन्दै अतिरिक्त रु छ करोड वजेट विनियोजन गर्ने अवसर थिएन, अपितु अझ परिणाम राम्रो आउनु पर्थ्यो भन्ने अनुमान हो । त्यो समीक्षा भाद्र १५ गते जिल्ला कार्य समितको बैठकले गर्ला । नेकपा माओवादीले आफ्नो समीक्षा- विश्लेषण निकालिसकेको छ रे । बुझौला । नेकपा एमालेले अतिरिक्त वजेट एक्लौटी वाँड्दा पनि उसको अपेक्षा पूरा गर्न जनार्दनले नमान्नु पर्ने कारण उहाँहरुको बैठकबाट के कस्तो विश्लेषण निस्कने हो- त्यसबाट पनि खोटाङ कांग्रेसलाई समीक्षा गर्न देव्रे दाहिने कोणबाट सहयोग पुग्ने अनुमान गरेको छु ।
जयनेपाल ।
कांग्रेस बैठक जारी
यसैबिच, नेपाली कांग्रेस जिल्ला कार्यसमिति खोटाङको बैठक आज दोस्रो दिन पार्टीको दिक्तेलबजारस्थित नबनिर्मित कार्यालयमा जारी छ । बैठकमा स्थानीय तहको निर्वाचन समिक्षा तथा आगामी निर्वाचनको विषयमा छलफल केन्द्रीत रहेको बताइएको छ ।