खोटाङ वैशाख–७, ‘खोटाङ रङ्गमञ्च’को प्रस्तुति जनचेतनामूलक नाटक ‘कचहरी’ बिद्यालयहरुमा प्रदर्शन भईरहेको छ । लागूऔषध दुव्र्यशनीका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको नाटक प्रदर्शन जिल्लाका बिद्ययालयहरुमा प्रदर्शन भईरहेको हो ।

ग्रामीण क्षेत्रका जीवन भोगाइमा आधारित कचहरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा ‘हामी स्वयम्सेवी अभियान’को सहकार्यमा तयार पारिएको हो ।

बुधबारदेखि प्रदर्शनमा ल्याइएको नाटकले नगरबासीको मात्र नभइ जिल्लाबासीकै जनचेतना अभिवृद्धिमा सहयोग पु¥याउने अपेक्षा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । नाटकले कुलतमा फस्दै गएका किशोर/किशोरीलाई सजग गराउनुका साथै कुरीति तथा कुसंस्कार हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको मेयर भट्टराईको भनाई छ ।

ईलामका अनिल सुब्बाले निर्देशन गर्नुभएको पारिवारिक तथा सामाजिक परिबेसमा आधारित नाटकले अधिकांश दर्शकको मन जितेको व्यवस्थापक एल.बी. मगरको दाबी छ । कचहरी फ्रेममा तयार पारिएको नाटकका लागि कलाकारहरुलाई दश दिनको अभ्यास गराईएको रङ्गमञ्चका अध्यक्ष सञ्जिव राईले सुनाउनुभयो ।

पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा प्रदर्शन गर्ने तयारी गरिएको नाटकको पहिलो प्रदर्शनी दिक्तेलबजारस्थित सरस्वती माबिमा भएको छ । कचहरीमा खोटाङका कलाकारहरु सञ्जिव राई, योगिन राई, सविना राई, सलिना भुजेल, दीपेन्द्र राई, मिलन राई, आकृति भुजेल, ज्ञानेन्द्र विश्वकर्मा र मनिस परियारले अभिनय गर्नुभएको छ ।

काठमाडौँस्थित मन्डला थ्रेटर लगायत विभिन्न थ्रेटरहरुमा लामो समय अभिनय गरेर आफ्नो जिल्लाका फर्किएका कलाकारहरुले आधिकारिकरुपमा दर्ता गरेर सञ्चालनमा ल्याएका खोटाङ रङ्गमञ्चले यसअघि पनि विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गर्दै आएको थियो ।।