खोटाङ बैशाख–१,  खोटाङ र भोजपुरको सिमानामा पर्ने रमणीय चखेवा भञ्याङ पर्यटकको गन्तब्य स्थल बन्न थालेको छ । मध्येपहाडी लोकमार्ग, सरकारले सय गन्तब्यमा राखेको मुन्दुम टे«ल र पर्यटकीय स्थल टेम्के डाडाँले छोएको चखेवामा पर्यटकको लर्को लाग्न थालेको हो ।

खोटाङको साकेला र भोजपुरको टेम्केमयुङ गाउँपालिकाबीचमा अवस्थित चखेवा टेम्के र मुन्दुम टे«ल घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकको बास स्थान बन्ने गरेको छ । उक्त स्थानलाई बिभिन्न जिल्लाका संघसंस्थाहरुले औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुको आयोजना स्थल समेत बनाउने गरेको स्थानीयको भनाई छ ।

मध्येपहाडी लोकमार्गमार्फत काठमाण्डौंबाट खोटाङको हलेसी र दिक्तेलबजार हुँदै भोजपुर यात्रा गर्ने यात्रुहरुको समेत सो स्थानमा बास हुने गर्दछ । मध्येपहाडी लोकमार्ग कालोपत्रे भईसकेपछि हाल भोजपुरका यात्रुहरु सोही सडक प्रयोग गरी यात्रा गर्दै आएका छन् । खोटाङ र भोजपुर बाहेक उदयपुर, धनकुटा, सुनसरी, काठमाण्डौ लगायत देहबिदेशका पर्यटकहरु सो क्षेत्र पुग्ने गरेका छन् । पछिल्लो समय होमस्टे लगायत खाना तथा बासको ब्यवस्थित प्रबन्ध भएकाले पनि पर्यटक लोभिएका स्थानीय ब्यवससायीहरु बताउँछन् । करिब तीन हजार मिटरको टेम्केडाँडादेखि केही मुनितिर रहेको चखेवादेखि मयुम हुँदै सालपा–सिलिचुङसम्मको पदमार्ग यात्राको लागि कम्तीमा तीन दिनको समय तय गर्नुपर्दछ ।

लालीगुराँस, चिमाल, भेडीगोठ, घोडा चरण, बिभिन्न पोखरीहरु, हिमाली श्रृंखला, पहाडी चउरहरु र पदमार्गसँगै निर्मित बिभिन्न संरचनाहरु मुन्दुम टे«लको आकर्षण हुन् ।।