कात्तिक–१३,  खोटाङको दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिनादिन अघिदेखि नमस्ते तथा स्काई मोवाइल सेवा अवरुद्ध हुँदा निर्बाचन गतिबिधि संकलनमा समस्या भएको छ ।  उक्त क्षेत्रमा मोवाईल सेवा अवरुद्ध हुँदा आगामी मंसिर १० गते हुने प्रदेश तथा २१ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनका गतिविधि संकलनमा समस्या भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।
खत्रीका अनुसार सञ्चार सेवा अवरुद्घ हुँदा कुन ठाउँमा के भइरहेको हुन्छ भन्ने तत्काल थाहा पाउन सकिने अवस्था छैन ।
लामो समयसम्म नमस्ते तथा स्काई मोवाईल सेवा अवरुद्ध हुँदा जिल्लाको हजारौं सेवाग्रागी समेत मारमा परेका छन् । दक्षिणी क्षेत्रको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित होङ्मा पोखरीमा रहेको रिपिटर टावरमा जडान गरिएको ब्याट्री बिग्रिएपछि मोवाईल सेवा अवरुद्ध भएको जनाईएको छ । ब्याट्री बिग्रिएपछि मोवाइलले काम नगर्दा दक्षिणी क्षेत्रमा पर्ने साबिकका गाबिस काहुले, चिप्रिङ, लिकुवापोखरी, ईन्द्रणीपोखरी, वाप्लुखा, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, सावाकटहरे, बडकादियाले, डम्बर्खुशिवालय, चिसापानी, बोपुङ, दिप्लुङ, मौवाबोटे, देविस्थान, पौवाशेरा, फाक्टाङ, बाराहापोखरी, सुन्तले लगायत छिमेकी जिल्ला उदयपुर र भोजपुरका केही भूभागका सेवाग्राही समेत कर्मामा परेका छन् । यस्तै, उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिका–१ स्थित फेदीमा सञ्चालित रिपिटर टावरमा विद्युत अभावका कारण ब्याट्री चार्ज नहुँदा मोवाईल सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले दुई वर्षअघि फेदीमा सञ्चालनमा ल्याएको ९ सय मेगाहर्जको एसडिआर जिएसएम बिटिएसले काम गर्न छाडेपछि पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डे लगायतका सेवाग्राही डेढ÷दुई घण्टा पैदल यात्रा गरेर टावर टिप्ने ठाउँमा जाने गरेका छन् । दुवै क्षेत्रमा मोवाईल सेवा अवरुद्ध भएको लामो समय बितिसक्दा पनि टेलिकमले चासो नदिएको सेवाग्राहीको आरोप छ ।
जिल्लावासीको समस्यालाई बेवास्ता गर्दै टेलिकमका प्रमुख ज्योति चौधरी घर बिदामा बसेको लामो समय भएको स्रोतले जनाएको छ । अवरुद्ध मोवाईल सेवा तत्काल सञ्चालनमा ल्याउन पटक–पटक ताकेता गरेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।