कात्तिक–१८ खोटाङ,  आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्बाचनमा एमाले र माओबादी केन्द्रका बाम गठबन्धनलाई बिजयी गराउन खोटाङका संयुक्त बाम बिद्यार्थी संगठनले निर्बाचन परिचालन समिति गठन गरेको छ । बाम गठबन्धनका तर्फबाट केन्द्रीय प्रतिनिधि सभामा नेकपा एमालेका बिशाल भट्टराई तथा प्रदेश–१(क) मा एमालेका राजन राई र २ (ख)मा माओबादी केन्द्रका रामकुमार राई(पासाङ)लाई बिजयी गराउन अनेरास्ववियुका जिल्ला अध्यक्ष ओमप्रकाश घिमिरेको संयोजकत्वमा परिचालन समिति गठन गरिएको हो ।

बाम बिद्यार्थीका तर्फबाट ११ सय ११ सदस्यीय निर्बाचन प्रचार–प्रसार समिति परिचालन गर्ने गरी शनिबार गठन गरिएको परिचालन समितिको सह–संयोजकमा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष उदिम चाम्लिङ रहेको जनाईएको छ । बाम गठबन्धनको कार्यालय दिक्तेलमा गठित समितिले बाम एकताको सन्देश झल्कने तवरले निर्बाचन प्रचार–प्रसारमा खटिने निर्णय गरेको संयोजक घिमिरेको भनाई छ ।

 परिचालन समितिका संयोजक घिमिरेका अनुसार बाम गठबन्धन एमालेका राजन राई उम्मेदवार रहेको प्रदेश–क मा हुने हरेक चुनाबी कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष तथा परिचालन समितिका सह–संयोजक चाम्लिङ सहभागी बन्ने र माओबादी केन्द्रका रामकुमार राई(पासाङ) उम्मेदवार बनाईएको प्रदेश–ख मा आयोजित हरेक गतिबिधिमा अनेरास्वबियुका अध्यक्ष तथा संयोजक घिमिरे सहभागी बन्ने निर्णय भएको छ ।

बिद्यार्थीहरु आईतबारबाटै आ–आफ्नो क्षेत्रमा परिचालित हुने बताईएको छ ।