कात्तिक–२५ खोटाङ, आफू संलग्न पार्टीले देशमा शान्ति तथा सुव्यवस्था कायम गर्न नसक्ने भन्दै नेपािली कांग्रेसका जिल्ला सदस्यसहित तीन दर्जन कार्यकर्ता बाम गठबन्धनमा प्रबेश गरेका छन् । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने भन्दै नेपाली कांग्रेस खोटाङका जिल्ला सदस्य कुलदिप राईसहित तीन दर्जन कार्यकर्ता तीन दर्जन कार्यकर्ता शुक्रबार वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।
गठबन्धनले रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा आयोजना गरेको बृहत चुनावी सभामा जिल्ला सदस्य कुलदिपसँगै कांग्रेसका क्रियाशिल सदस्य तथा पूर्व गाविस उपाध्यक्ष लंकशेर राई, तरुण दलका जिल्ला सदस्य वीरबल राई, प्रकाश राई, फडिन्द्र ढकाल, वीर्खबहादुर खनाल, शिक्षक संगठनका सदस्य सन्देश राई लगायत तीन दर्जन काँग्रेस कार्यकर्ता प्रवेश परेको वाम गठबन्धनका नेता तथा एमाले जिल्ला उपाध्यक्ष कुमार आचार्यले बताउनुभयो ।
नवप्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य अमेम्बर राई, प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार तथा एमाले वैकल्पिक केन्द्रीय विशाल भट्टराई, प्रदेशसभा क्षेत्र नम्बर १ को साझा उम्मेदवार राजन राई, माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा पूर्व सभाषद् दुर्गाजयन्ती राई लगायतले अविर लगाएर स्वागत गर्नुभएको थियो ।
वाम गठबन्धनले बुइपास्थित पञ्चेदोबाटोमा आयोजना गरेको चुनावीसभामा बोल्ने प्रमुख अतिथि लगायत वक्ताहरुले जिल्लाको तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष तथा माओवादी केन्द्रको तर्फबाट प्रदेश नम्बर १ को समानुपातिक उम्मेदवार नवल खड्काको समेत उपस्थिति रहेको कार्यक्रममा एमालेका तर्फबाट प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार हरि पोखरेल र रमिला गुरुङ, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाकै समानुपातिक उम्मेदवार पुष्पशंकर विश्वकर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।
करिब छ घण्टासम्म चलेको कार्यक्रममा संगीतकार तथा गायक डाक्टर किरात, चर्चित गायिका सत्यकला राई, गायिका शीला राई, गायत दिपक राई, नायिका दिपाशा तथा जनसाँस्कृतिक महासंघ खोटाङका कलाकारहरुको बेजोड साँगीतिक प्रस्तुती रहेको थियो ।