खोटाङ बैशाख–१०, एक नम्बर प्रदेशलाई ‘किरात प्रदेश’ नामाङ्कन गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद खोटाङले मुख्यमन्त्री शेरधन राईलाई आग्रह गरेका छन् । सदरमुकाम दिक्तेल आउनुभएको मुख्यमन्त्री समक्ष समन्वय परिषद्ले ज्ञापनपत्र बुझाउँदै किरात प्रदेशको माग गरेको हो ।
एक नम्बर प्रदेश किरात भूगोल, इतिहास र साँस्कृतिक पहिचानले भरपुर रहेको भन्दै उक्त नामाकरण गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । दिक्तेलस्थित समीक्षालय हलमा बुझाईएको ज्ञापनपत्रमा शसस्त्र द्धन्द २०६२÷०६३ सालको जनआन्दोलनबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता तथा समानुपातिक समावेशी लगायतका अधिकारहरुको बारेमा प्रष्ट्याईएको छ । बिज्ञप्तीमा हालसम्म पनि आदिवासी जनजाति मैत्री कानुन तथा नीति कार्यान्वयन हुन नसकेको जनाईएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदा सार्वजनिकीकरण कार्यक्रमका लागि दिक्तेल आउनु भएका मुख्यमन्त्री राईलाई प्रदेश तथा स्थानिय तहमा आदिवासी जनजातिमैत्री कानुन, नीति, योजना तथा कार्यक्रम निर्माण गरिनुपर्ने सुझाव दिईएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद खोटाङका अध्यक्ष हात्तीराम राईले बुझाउनुभएको ज्ञापनपत्रमा किरात भूगोलभित्र विविधतायुक्त जातिय समुदाय, इतिहास, सँस्कृति, प्राकृतिक अध्ययन अनुसन्धानका लागि किरात विश्व विद्यालय स्थापना गर्नुपर्ने माग राखिएको छ । धनकुटा र भोजपुर एक नम्बर. प्रदेशकोबीच भूगोलमा पर्ने भएकाले उपर्युक्त स्थानमा प्रदेशको केन्द्र राखिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।
यस्तै, किरात साँस्कृतिक उद्गमस्थल तुवाचुङ जायजुम, मझुवागढी, बराहपोखरी, जन्तेढुंगा, छोङखा, साकेलाथान, मैयुडाडाँ संरक्षण सम्बद्र्घन गरी साँस्कृति पर्यटनको विकास गरिनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।
मुख्यमन्त्री राईले भने सबैलाई चित्त बुझ्ने खालको प्रदेशको नाम र केन्द्र रहने जनाउनु भएको छ ।