
जेठ–३०, बिभिन्न दलका नेता तथा सामाजिक संघसंस्थाका प्रतिनिधिले खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको संरक्षण एबं पर्यटन बिकासकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय समक्ष माग गरेका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काको नेतृत्वमा गएको खोटाङका एमाओबादी, कांग्रेस, एमालेका कार्यकर्ता तथा संघसंस्थाका प्रतिनिधिहरुको टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री रामकुमार श्रेष्ठलाई भेट गरी संरक्षणको अभावमा ओझेलमा परेको बराहपोखरीको पर्यटन बिकासकालागि आग्रह गरेका हुन् ।
उनीहरुले बराहपोखरीको पर्यटन बिकासकालागि बराहपोखरी पुग्ने ग्रामिण सडक विस्तार, विद्युतीकरण लगायतका भौतिक पूर्वाधारको विकास गर्दै तालको संरक्षणकालागि आग्रह गरेको स्थानीय पञ्चकन्या यूवा क्लव बाराहापोखरी–८ का सचिव भरत मगर ‘खोटाङे’ले काठमाडौंबाट जानकारी दिनुभयो ।
सरकारले नयाँ आर्थिक वर्षको बजेट भाषणमार्फत बराहपोखरीको पर्यटन बिकासकालागि विनियोजन गरेको रकम समेत हालसम्म उपलब्ध नभएको भन्दै टोली काठ्माडौं पुग्न वाध्य हुनु परेको सचिव मगरले बताउनु भयो ।
मन्त्री श्रेष्ठले आगामी आ.व. २०७०/०७१ को बजेटमा बाराहापोखरी गाबिसमा सडक, विद्युत बिस्तार गर्दै बराहपोखरी ताल संरक्षण लगायतका योजनालाई राष्ट्रिय योजनामा समावेश गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । ४.४६ हेक्टरमा फैलिएको, ३३० मिटर लम्बाई र २१० मिटर चौडाई भएको बराहपोखरी तालमा संसारकै दुर्लभ रातो माछा पाईन्छ ।
पुर्बी नेपालको पर्यटकीय स्थल बराहपोखरी खोटाङको दक्षिणी गाबिस बराहपोखरीमा पर्छ ।
चारैतिर पहाडले घेरिएको र बीचको खाल्डोमा रहेको बराहपोखरी पुग्न सदरमुकाम दिक्तेलबाट डेढ दिन पैदल हिँड्नु पर्छ । मुहान नदेखिएनि बा¥है मास टम्म पानी हुनु यस पोखरीको बिषेशता हो । पहाडी उपत्यकामा रहेको यस पोखरीको पानी सुरुङबाट निकास हुने गरेको स्थानीयबासी बताउँछन् ।
छिमेकी जिल्ला उदयपुरसँग जोडिएको बराहपोखरी खोटाङको प्रमुख पर्यटकीय स्थल तथा धार्मिक स्थल हो । सदरमुकाम दिक्तेलबाट स–छितापोखरी, ईन्द्रणीपोखरी, खोटाङबजारहुँदै पुगिने बराहपोखरीमा जिल्ला बाहिरबाट सिधै खोटाङबजारस्थित थामखर्क बिमानस्थल ओर्लेर पनि जान सकिन्छ ।
यसबाहेक छिमेकी जिल्ला उदयपुरबाट पनि बराहापोखरीमा पुग्न सकिन्छ । बराहपोखरी जाने दिक्तेल–खोटाङबजार सडक निर्माणाधिन छ भने, केही बर्षमै पूरा हुने उदयपुरको साउने–सुन्तले–साउनेचौंर र रसुवा–बराहपोखरी सडक पनि निर्माण भइरहेको छ ।
४.४६ हेक्टरमा फैलिएको, ३३० मिटर लम्बाई र २१० मिटर चौडाई भएको तालको छेउमा शंखेश्वर महादेवको मन्दीर रहेको छ । पोखरीमा नुहाउदा मनोकांक्षा पूरा हुने, निसन्तानलाई सन्तान प्राप्त हुने बिश्वासमा बराहपोखरीमा बर्षेनी हजारौं तिर्थयात्रीको भीड लाग्ने गरेको छ ।
हरिबोधनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिबरात्री र रामनवमीको अवशरमा बराहपोखरीमा सतबिज पलबीज छर्ने चलन छ । बराहपोखरीमा हरिबोधनी एकादशी मेलाकोबेला दुई हजारभन्दा बढि परेवा उडाउने गरिन्छ ।
बराहपोखरीमा संसारमै दुर्लभ र लोपोन्मुख मानिने रातो माछा पाईन्छ, जसलाई टाढाबाटै पोखरीमा राताम्य देख्न सकिन्छ । जिल्लाकै प्रमुख पर्यटकीय स्थलकारुपमा बिकास गर्न सकिने बराहापोखरी बिकास, संरक्षण र संबर्धनको पखाईमा रहेको छ ।